झापा । झापामा ठगी आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता बलराम कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई मंगलबार साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो ।
उनीविरुद्ध अर्जुनधारा-११ बस्ने ४७ वर्षीय युवराज गिरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए ।
जाहेरवालाका अनुसार उनका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई विवाहको शर्तमा कलेज खर्च भन्दै विभुतजंगले ३ लाख १५ हजार रुपैयाँ मागेका थिए ।
प्रहरीका अनुसार किशोरीको नाममा पटक पटक रकम मगाएर उक्त पैसा आफूले नै प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।
कार्कीविरुद्ध गत मंसिरमै मुद्दा दर्ता भएको थियो ।
पक्राउ पुर्जी जारी भएको करिब तीन महिनापछि उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।