आज पहाड र हिमाली जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
591
Shares
काठमाडौँ । फागुपूर्णिमा अर्थात् रङहरूको पर्व होली आज नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश प्रवाह गर्दछ।
केही वर्ष अघिसम्म उपत्यकामा निकै उच्छृङ्खल रूपमा मनाइने यो चाड पछिल्लो समय प्रहरीको सक्रियता र जनचेतनाका कारण निकै सभ्य बन्दै गएको छ। सडकमा हिँड्नेलाई इच्छा विपरीत रङ र लोला छ्याप्ने विकृति कम भएपछि विशेषगरी महिला तथा युवतीहरूलाई आवतजावतमा सहज भएको छ।
काठमाडौँको वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन गाडिएको रङ्गीबिरङ्गी चिरलाई आजैका दिन विधिपूर्वक ढालेर बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने परम्परा छ। यसरी जलाइएको चिरको खरानीलाई अनिष्ट टर्ने विश्वासका साथ टीकाका रूपमा लगाउने गरिन्छ।
यो पर्वसँग धार्मिक कथाहरू पनि जोडिएका छन्, जसमा दैत्यराज हिरण्यकश्यपुकी बहिनी होलिका दहन भएको र भक्त प्रह्लाद सुरक्षित रहेको घटना मुख्य मानिन्छ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ। त्यस्तै, भगवान् श्रीकृष्णले पुतना राक्षसनीको वध गरेपछि व्रजवासीले मनाएको उत्सवका रूपमा पनि यसलाई लिइन्छ।
होलीको सांस्कृतिक पक्ष मात्र नभई यसको आयुर्वेदिक महत्त्व पनि उत्तिकै रहेको विशेषज्ञहरू बताउँछन्। प्राकृतिक रङ र अबिरले छालाको रोग निवारण गर्ने तथा चिरको धुवाँले शीतकालका कीटाणु निर्मूल पार्ने विश्वास गरिन्छ।
यो पर्व नेपाल र भारतमा मात्र नभई इटाली, चीन, अमेरिका, श्रीलङ्का र थाइल्याण्ड जस्ता देशहरूमा पनि आ-आफ्नै मौलिक शैली र नाममा मनाइने गरिन्छ। पहाडी क्षेत्रमा आजैका दिन सार्वजनिक बिदा दिए पनि तराईका जिल्लाहरूमा भने भोलि मङ्गलबार यो पर्व विशेष उत्साहका साथ मनाइनेछ।