बाजुरामा कांग्रेसको वर्चस्व: प्रत्यक्षसँगै समानुपातिकमा पनि पहिलो, पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
720
Shares
बाजुरा । बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ जितेको कांग्रेस समानुपातिकमा समेत पहिलो शक्ति बनेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा खसेको कुल ४५ हजार ६६९ मतमध्ये कांग्रेसले १६ हजार ७४६ मत प्राप्त गर्यो। यस्तै, नेकपा (एमाले) ले १५ हजार ८९७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ हजार ८२० मत पायो।
अन्य दलहरूमा नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ३५८, राप्रपाले ४७०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २१५, नेपाल जनता संरक्षण पार्टीले १३६ र सार्वभौम नागरिक पार्टीले १३१ मत प्राप्त गरे। कुल खसेको मतमध्ये ४४ हजार ४६९ मत सदर भयो भने १ हजार २०० मत बदर भएको निर्वाचन कार्यालयले जनायो।
आइतबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी ५४० मतान्तरले विजयी भए। गिरीले १७ हजार १७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए। यस्तै, रास्वपाका हेमराज थापाले ६ हजार ३५ मत र नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४२४ मत प्राप्त गरे।
निर्वाचनमा कुल ५ जना उम्मेदवारको जमानत जफत भयो। सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत रहेका नेकपाका उम्मेदवार प्रकाश बहादुर शाहसहित केशर शाही (हलो), दीपक डीसी (आँखा), भूपेन्द्र विक (गुलाफ) र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही (चरो) को जमानत जफत भएको हो। उनीहरूले सदर मतको न्यूनतम १० प्रतिशत मत कटाउन सकेनन्।