arrow

ग्लोबल आईएमई बैंकबाट विदेशमा रहेका नेपालीलाई सेवा दिन 'नन रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग' स्थापना,

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
global-ime-bank-82-11-28.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । 

बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका छन् ।  

नेपालमै पहिलो पटक शुरू गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ । 

बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरूलाई सम्पूर्ण बैंकिङ सेवाहरू जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरू प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ । 

विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरूलाई ग्राहक सेवा  नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने छ । 

विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरूलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।   

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आईएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

बैंकले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरूको विकास तथा विभिन्न १० देशभन्दा बढि देशमा रहेका बैंकका कर्मचारीहरूमार्फत् बैंकिङ सेवाहरू प्राथमिकतामा प्रदान गर्दैआएको छ ।

विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ ।

विभागको औपचारिक उद्घाटन गर्दै अध्यक्ष ढकालले रोजगारी तथा अन्य कामको सिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।

“यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आईएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरूको आवश्यकता अनुरुप पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्‍याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रुपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने यो हाम्रो महत्वपूर्ण प्रयास हो” उनले भने ।

यसै अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए । 

“यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आईएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरूको आवश्यकता तथा चाहनालाई पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,” उनले भने ।

उनले यस पहलसँगै ग्लोबल आईएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरूसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । 

उक्त शुभारम्भ कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । 

बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । 

यस विभागको कार्यालय ग्लोबल आईएमई बैंकको काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ । साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् । 

बैंकको प्रत्यक्ष टेलिफोन नम्बरहरू ९७७–०१४५४४५१५, ९७७–०१४५३८१०५/०७, इमेल ठेगाना [email protected] र ह्वाट्सएप वा भाइबर नम्बर ९७७–९८५११९९६४० मार्फत ग्राहकहरूले सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ