arrow

निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव

विभिन्न आयोजनामा सात लाख भारतीय श्रमिक कार्यरत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
rabi-sing-nirman-10-26.jpg

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले मासिक ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउन सक्ने बताएका छन् ।

निर्माण क्षेत्रमा अहिले श्रमिकको चरम अभाव रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा आउन चाहनेका लागि अवसरसँगै राम्रो आम्दानीको सम्भावना पनि रहेको बताए।

उनका अनुसार निर्माण क्षेत्रभित्र विशेषगरी पुल निर्माणमा काम गर्ने श्रमिकले महिनामै ५० हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन्। अहिले यस्ता काममा अधिकांश भारतीय श्रमिक संलग्न रहेको र उनीहरूले ठूलो रकम पारिश्रमिकका रूपमा भारत लैजाने गरेको पनि उनले उल्लेख गरे।

सिंहका अनुसार नेपालका विभिन्न निर्माण आयोजनामा करिब सात लाख भारतीय श्रमिक कार्यरत छन्। सरकारले निर्माण क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।

उनले नयाँ सरकार बन्ने सन्दर्भमा अर्थतन्त्रलाई चलायमान बनाउन व्यवहारिक नीति आवश्यक रहेको बताए। कानून तथा नीतिहरू कार्यान्वयनयोग्य बनाउँदै नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले जोड दिए।

अध्यक्ष सिंहले अहिले नेपालमा कार्यरत भारतीय मजदुरलाई क्रमशः प्रतिस्थापन गर्दै नेपाली युवालाई सीपमूलक तालिममार्फत निर्माण क्षेत्रमा जोड्नुपर्ने आवश्यकता औँल्याए।

निजी क्षेत्रसँग सहकार्य गरी बेरोजगार युवालाई प्रशिक्षण दिएर रोजगारी सुनिश्चित गर्न सकिने उनको धारणा छ। सरकारले लागू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक सय दिन रोजगारी दिने घोषणा गरिए पनि व्यवहारमा त्यो प्रभावकारी हुन नसकेको सिंहले बताए।

उनका अनुसार यस्तो कार्यक्रमलाई कागजमै सीमित नराखी सीप विकाससँग जोडेर कार्यान्वयन गर्न जरुरी छ। उनले अदक्ष श्रमिकलाई छोटो समयमै अर्धदक्ष बनाउन सकिने उल्लेख गर्दै तालिम पाएपछि अर्धदक्ष श्रमिकले पनि ३० देखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउन सक्ने बताए। 

निर्माण क्षेत्रमा व्यवहारिक शिक्षा र सीपमूलक तालिम विस्तार गर्न सके नेपाली युवाले स्वदेशमै राम्रो रोजगारी पाउने उनको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ