arrow

निर्वाचनपछि एमाले नेताहरू पुगे बालुवाटार, जनादेशबाट विचलित नहुन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
sushila-uml-leader.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एमालेलाई धन्यवाद दिएकी छन्। एमाले नेतृत्वलाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन्। 

एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए। भेटघाटका क्रममा प्रधानमन्त्रीले कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर एमालेले खेलेको सहयोगी भूमिकाको प्रशंसा गरेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले निर्वाचनमा हुने हार-जितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन र एकपटकको जनादेशबाट विचलित नहुन एमाले नेतृत्वलाई आग्रह गरेकी छन्। "एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन। भारतमा अटल विहारी वाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव हामीले देखेकै छौँ," प्रधानमन्त्रीले भनिन्, "राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।"

सो अवसरमा एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री र वर्तमान सरकारलाई बधाई दिएका छन्। मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य र लोकतान्त्रिक निकास दिएकोमा उनीहरूले सरकारप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको कार्यकक्षले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ