काठमाडौँ। खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौँ ल्याइएको छ ।
विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा एक जना यात्रु घाइते भएका थिए ।
घाइते यात्रु र पाइलटलाई हेलिकफप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
अवतरणका क्रममा दुर्घटनामा परेको हेलिकोप्टरले काठमाडौँबाट छ जना सवार लिएर उडेको थियो ।
उक्त हेलिकोप्टर बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, कल साइन एन-एएफक्यु रहेको उक्त हेलिकोप्टर काठमाडौँबाट पाँच जना यात्रु र एक जना पाइलट गरी कुल छ जना लिएर खोटाङको बालवेशी (खानिडाँडाबाट १७ किलोमिटर उत्तर-पूर्व) का लागि उडेको थियो ।
खोज तथा उद्धार समन्वय केन्द्रले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ।
हेलिकोप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।