arrow

बहुउद्देश्यीय हलमा शपथ र बैठकको तयारी, २४ सांसदले मातृभाषामा शपथ लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
ekram-giri-12-10.jpg

काठमाडौँ । नयाँ संसद भवनको निर्माण कार्य समयमै सम्पन्न हुन नसकेपछि आगामी चैत १२ गते हुने प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण र संसद बैठकका लागि संघीय संसद सचिवालयले वैकल्पिक व्यवस्था गरेको छ। सचिवालयले सिंहदरबारस्थित निर्माणाधीन संसद परिसरमा रहेको बहुउद्देश्यीय हललाई नै अस्थायी सभाकक्षका रूपमा तयार पारेको हो। मुख्य सभाकक्ष तयार नभएकाले हाललाई यसै हललाई आपत्कालीन 'सेटअप' का रूपमा प्रयोग गर्न लागिएको सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।

सचिवालयले विगत एक महिनादेखि गरिरहेको तयारी अनुसार हलमा सिट, रोष्ट्रम, सभामुख र सचिवालयका लागि आवश्यक स्थानको व्यवस्थापन गरिसकेको छ। भौतिक पूर्वाधारका अधिकांश काम सकिए पनि सिटहरूमा माइक्रोफोन जडान गर्ने जस्ता केही प्राविधिक कार्यहरू बुधबारसम्ममा पूरा हुने बताइएको छ। प्रवक्ता गिरीका अनुसार हलको सीमित क्षेत्रफलका कारण संसदको वेल, रोष्ट्रम र सभामुखको कुर्सीलाई न्यूनतम मापदण्डमा खुम्च्याउनुपर्ने बाध्यता आइलागेको छ। यसपटकको शपथ ग्रहण कार्यक्रममा २४ जना नवनिर्वाचित सदस्यले आफ्नो मातृभाषामा शपथ लिने तयारी समेत गरिएको छ।

यसअघि बैठक सञ्चालन हुँदै आएको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गत भदौमा भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि बैठकका लागि अनुपयुक्त बनेको थियो। सरकारले चैतको पहिलो साताभित्रै मुख्य सभाकक्ष उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि निर्माण कार्य पूरा नभएपछि सचिवालयले बहुउद्देश्यीय हल रोजेको हो। यो हलमा इन्टरनेट, क्यान्टिन र अन्य सेवाहरू व्यवस्थित नरहेकाले बैठक सञ्चालनमा केही जटिलता हुन सक्ने सचिवालयको अनुमान छ। स्थायी सभाकक्ष कहिलेसम्म तयार हुन्छ भन्ने अझै निश्चित नभएकाले प्रतिनिधि सभाको पहिलो अधिवेशन यही अस्थायी हलबाटै चल्ने देखिएको छ।

सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा ५ अर्ब ६७ करोडभन्दा बढीको लागतमा सुरु भएको संसद भवन निर्माण कार्य पाँचौँ पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन। २०७६ सालमा सुरु भएको ठेक्का सम्झौताको म्याद सकिँदा पनि इन्टेरियर र रुफिङका कामहरू अझै बाँकी नै छन्। सचिवालयले सरकारलाई बारम्बार ताकेता गर्दा पनि निर्माणमा ढिलाइ भएको भन्दै सबै १२ वटै भवनहरू यथाशीघ्र सम्पन्न गरी हस्तान्तरण गर्न पुनः आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ