नेप्से परिसूचक २९६० को बिन्दुमा, झण्डै १५ अर्बको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
640
Shares
काठमाडौँ । यो साताको तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएर बजारमा सकारात्मक उत्साह देखिएको छ। आज नेप्से परिसूचक २३.८३ अङ्कले बढेर २,९६०.४० को बिन्दुमा पुगेको छ। दिनभर कुल ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार ९४७ पटक खरिद–बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँ बराबरको ठूलो कारोबार भएको नेप्सेले जनाएको छ।
आजको बजारमा व्यापार समूहको उपसूचकमा ९.१२ प्रतिशतको उछाल आएको छ भने विकास बैंक, जलविद्युत्, बैङ्किङ, वित्त, लगानी, र उत्पादन तथा प्रशोधन समूहमा पनि सुधार देखिएको छ। यद्यपि जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र अन्य समूहका उपसूचकमा भने सामान्य गिरावट आएको छ। विशेषगरी सलपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन् भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.५६ प्रतिशत गुमाउनु परेको छ।
कारोबार रकमका आधारमा रादी विद्युत् कम्पनी ६७ करोड ४३ लाख रुपैयाँभन्दा बढीको खरिद–बिक्रीसहित अग्रस्थानमा रहेको छ। त्यस्तै सेयर सङ्ख्याका हिसाबले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (HIDCL) को संस्थापक सेयर सबैभन्दा धेरै २० लाख २७ हजार कित्ताभन्दा बढी किनबेच भएको छ। लगातारको वृद्धिसँगै बजार २९०० को मनोवैज्ञानिक बिन्दुभन्दा माथि सुदृढ हुँदै गएको देखिएको छ।