काठमाडौँ । मध्यपूर्वमा जारी तनावका कारण इन्धन अभावको जोखिम बढेपछि म्यानमार सरकारले आज (बुधबार) देखि सरकारी विभागहरूमा 'घरबाटै काम' गर्ने व्यवस्था लागू गरेको छ।
इन्धन खपत घटाउन चालिएको यो कदम अर्को सूचना नभएसम्मका लागि प्रभावकारी रहने म्यानमारको सरकारी सञ्चारमाध्यम 'द मिरर' ले बताए।
राष्ट्रिय रक्षा र सुरक्षा परिषद्को सूचना टोलीका अनुसार यस उपायको प्राथमिक उद्देश्य इन्धनको संरक्षण गर्नु हो।
घरबाटै काम गर्ने दिनहरूमा अधिकारी र कर्मचारीहरूलाई कुनै पनि गैर–अत्यावश्यक यात्रा नगर्न र सवारी साधनको प्रयोगबाट टाढै रहन निर्देशन दिइएको छ।
सरकारले निजी क्षेत्र र अन्य व्यवसायहरूलाई पनि सम्भव भएसम्म आफ्ना कर्मचारीका लागि समान व्यवस्था अपनाउन प्रोत्साहित गरेको छ।
मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित सम्भावित इन्धन सङ्कट टार्न म्यानमारले यसअघि नै सवारी साधनमा जोर–बिजोर प्रणाली र इन्धन रासन (कोटा प्रणाली) लागू गरिसकेको छ।
यसका साथै सरकारले इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न विभिन्न च्यानलहरूमार्फत आयातका लागि प्रयास गरिरहेको समेत बताए।