arrow

सडकबाटै सशक्त खबरदारी गर्दै 'जनताको सरकार' चलाउने उज्यालो नेपाल पार्टीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
kulman-12-11.jpg

काठमाडौँ । उज्यालो नेपाल पार्टीले मुलुकको समृद्धि र राष्ट्रियताको रक्षाका लागि सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने उद्घोष गरेको छ। बुधबार काठमाडौँमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष घिसिङले आफ्नो पार्टीले सडकबाटै आम जनताको सरकारका रूपमा काम गर्ने बताएका छन्।

अध्यक्ष घिसिङले देशका विद्यमान समस्या समाधान गर्न र सरकारलाई सही बाटोमा हिँडाउन निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामीलाई सडकमा बसेर सरकार चलाउने म्यान्डेट प्राप्त भएको छ, त्यसैले हामी सडकबाटै विभेदविरुद्ध लड्दै देशलाई समृद्धितिर लैजान सशक्त भूमिका निभाउनेछौँ।” सरकारका राम्रा कामलाई समर्थन गर्ने र गलत कदमको कडा विरोध गर्दै देशलाई सही दिशा दिने आफ्नो पार्टीको मुख्य कार्यदिशा रहेको उनले बताए।

प्रतिनिधिसभा निर्वाचनमा समय अभावका कारण पराजय व्यहोर्नुपरेको निष्कर्ष सुनाउँदै अध्यक्ष घिसिङले अब पार्टीलाई गाउँटोलसम्म विस्तार गर्ने योजना सार्वजनिक गरे। निर्वाचनलगत्तै केन्द्रीय कमिटीको बैठक र देशैभरका उम्मेदवारहरूसँग समीक्षा गरिसकेको जानकारी दिँदै उनले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई देशकै सशक्त शक्तिका रूपमा उदय गराउने दाबी गरे।

पार्टीले साङ्गठनिक विस्तारका लागि सातै प्रदेशमा भेलाहरू तय गरेको छ। जसअनुसार बागमती प्रदेशको भेला सम्पन्न भएको छ भने आगामी चैत १४ गते मधेस प्रदेशमा अगुवा भेला आयोजना हुने अध्यक्ष घिसिङले बताए। त्यसपछि जिल्ला, पालिका र वडा तहसम्म पुगेर जनताको घरदैलोमा संगठन मजबुत बनाउने उज्यालो नेपाल पार्टीको तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ