काठमाडौँ। उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङले पार्टी अब सडकबाटै सरकार सञ्चालन गर्ने योजनामा रहेको घोषणा गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा घिसिङले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको मत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।
उनले भने, “चुनावबाट अत्यधिक मतले करिब दुई तिहाइ बहुमत एउटा पार्टीलाई दिएको छ। उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउन म्यान्डेट दिएको छ। सडकको सरकार उज्यालो नेपाल पार्टी हुनेछ, हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौँ।”
घिसिङले पार्टी गठन भएको तीन महिनाभित्रै चुनावमा भाग लिनुपर्ने अवस्था आएको र अन्य दलसँग सहमति गर्दा केही अलमल भए पनि देशभर उम्मेद्वारी दिन सफल भएको जानकारी दिए।
चुनावमा प्रत्यक्ष जित नभए पनि पार्टीको कार्यकुशलता र देशव्यापी पहुँचलाई ‘हारपछि जित’को रुपमा व्याख्या गरे।
कार्यक्रममा घिसिङले सातै प्रदेशमा भेला सम्पन्न गरेपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको पनि बताएका छन्।
यस योजनाले पार्टीको आधारभूत संगठन सुदृढ बनाउने र जनताको अभिमत अनुसार राजनीतिक अभियानलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ।