बदलिँदो काठमाडौँ: धुलो र धुवाँ चिर्दै छाउन थाल्यो वसन्तको हरियाली
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
652
Shares
काठमाडौँ। कुनै समय धुलो र धुवाँको सहरका रूपमा चिनिने काठमाडौँ यतिबेला बदलिएको छ। वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक, चोक र गल्लीहरूमा पलाएका नयाँ पालुवा र फूलहरूले सहरको सौन्दर्यमा नयाँ चमक थपिदिएका छन्।
अघिल्लो सातासम्म खडेरी र प्रदूषणले धुम्मिएको काठमाडौँको आकाश केही दिनयताको वर्षापछि खुल्न थालेको छ। वर्षाले रुखका पात पखालेपछि सडक किनारका हरियाली थप टल्किएका छन्। विशेषगरी लैनचौर–महाराजगञ्ज, जमल–भद्रकाली, माइतीघर–तीनकुने र ललितपुरको कुपण्डोल–जावलाखेल सडक खण्डमा फुलेका फूलहरूले पैदलयात्री र पर्यटकको ध्यान तानेको छ।
काठमाडौँ र ललितपुर महानगरपालिकाले हरियाली प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन्। ललितपुरमा मेयर चिरिबाबु महर्जनको पहलमा २०७४ देखि नै सडक किनारमा वृक्षरोपण र संरक्षण कार्यले तीव्रता पाएको थियो। यता, काठमाडौँ महानगरपालिकाले पनि चालू आर्थिक वर्षमा मात्र झण्डै ४ हजार नयाँ बिरुवा रोप्ने लक्ष्य राखेको छ।
महानगरका उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार, महानगरभित्रका १४० खुला स्थानमा पार्क निर्माण र व्यवस्थापनको काम भइरहेको छ। बागमती र विष्णुमती नदी किनारमा समेत बेगमबेली र फलफूलका बिरुवा रोप्ने कार्य अगाडि बढाइएको छ।
कोरोना महामारीका बेला अक्सिजनको अभाव झेलेपछि मानिसहरूमा बिरुवा रोप्ने चेतना ह्वात्तै बढेको पाइएको छ। धेरैले आफ्नो घरको छतमा कौशी खेती र घर वरपर वृक्षरोपण गर्न थालेका छन्, जसले सहरको तापक्रम सन्तुलन र हरियालीमा टेवा पुर्याएको छ।
हरियालीले सहरलाई सुन्दर मात्र बनाएको छैन, जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ। वरिष्ठ कार्डियोलोजिष्ट डा. मिलनप्रकाश श्रेष्ठका अनुसार स्वच्छ र हरियाली वातावरणले फोक्सो र मुटुसम्बन्धी संक्रमणमा कमी ल्याउन मद्दत पुर्याउँछ।
रत्नापार्क (शङ्खधर उद्यान) का प्रमुख उत्तमकुमार घलेका अनुसार पार्कलाई व्यवस्थित बनाएसँगै अहिले घुम्न आउनेहरूको सङ्ख्या निकै बढेको छ। ज्येष्ठ नागरिक र अशक्तलाई निःशुल्क प्रवेश तथा इन्टरनेटको सुविधाले पार्कहरू नागरिकको विश्रामस्थल बन्न थालेका छन्।