arrow

अब भीआईपी सवारीमा सडक रोकिने छैन, एम्बुलेन्सले प्राथमिकता पाउनेछ : गृहमन्त्री गुरुङ [भिडियो]

भ्रष्टाचार रोक्न कर्मचारी र सेवाग्राहीको भेटघाट घटाऔँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
sudan-gurung-12.jpg

काठमाडौँ ।नवनियुक्त गृहमन्त्री सुधन गुरुङले विशिष्ट व्यक्ति (भीआईपी) हरूको सवारीका क्रममा सडक ठप्प पारी सर्वसाधारणलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्री वा भीआईपीको मुभमेन्टका नाममा एम्बुलेन्स र अत्यावश्यक सेवा रोकिनु स्वीकार्य नहुने स्पष्ट पारे।

उनले भीआईपी सवारीका कारण घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यताले नागरिकमा राज्यप्रति वितृष्णा पैदा गरेको उल्लेख गर्दै यससम्बन्धी कार्यविधि परिमार्जन गर्न गृह सचिवलाई निर्देशन दिएका छन्। मन्त्री गुरुङले भने, "हामी साधारण नागरिककै तहबाट आएका हौँ। भीआईपी सवारीका बेला सडकमा सुत्केरी व्यथा लागेका महिला र एम्बुलेन्स छटपटाउनु लोकतन्त्रको उपहास हो। अबदेखि यस्तो दृश्य देखिनु हुँदैन।"

भ्रष्टाचारको मुख्य कारण झन्झटिलो प्रशासनिक प्रक्रिया रहेको औँल्याउँदै गृहमन्त्रीले सरकारी कार्यालयहरूमा 'वान डोर सर्भिस सिस्टम' (एकद्वार सेवा प्रणाली) अनिवार्य गर्नुपर्नेमा जोड दिए। नागरिकले एउटै कामका लागि १० वटा कोठा धाउनुपर्ने र कर्मचारीसँग पटक-पटक प्रत्यक्ष ठोक्किनुपर्ने अवस्थाले नै अनियमिततालाई प्रश्रय दिएको उनको ठहर छ।

"कर्मचारी र सेवाग्राहीको प्रत्यक्ष भेटघाट कम गरी प्रविधिमार्फत सेवा प्रवाह गर्ने वातावरण बनाउनुपर्छ," उनले भने, "नागरिकले एक ठाउँमा निवेदन दिएपछि सिधै सेवा पाउने अवस्था बनेमा मात्र वास्तविक सुशासनको अनुभूति हुनेछ।"

गृहमन्त्री गुरुङले देश परिवर्तनका लागि रगत बगाउने शहीद परिवार र घाइतेहरूको सम्मानमा राज्यले दिने सेवामा कुनै ढिलासुस्ती हुन नहुने बताए। यसका लागि शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित एउटा छुट्टै विभाग वा केन्द्र स्थापना गर्ने प्रस्ताव उनले अघि सारेका छन्।

सञ्चारमाध्यमहरूलाई देश विकासको साझेदार बन्न आग्रह गर्दै उनले समाचार सम्प्रेषणमा उच्च सतर्कता र जिम्मेवारीपन अपनाउन समेत अनुरोध गरे। आगामी ५ वर्ष नागरिकलाई सम्मान गर्दै कडा मेहनतका साथ काम गर्ने अठोट मन्त्री गुरुङले व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ