arrow

सूर्योदयमा शुरू भयो विद्यार्थीलाई ‘कामको संसार’ सँग जोड्ने अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
suryodaya-nagarpalika-ilam.jpg

इलाम। सूर्योदय नगरपालिकाले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञान र कार्यक्षेत्रको अनुभव दिलाउने उद्देश्यसहित ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ अभियान शुरू गरेको छ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) र हेल्वेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको यो कार्यक्रमले विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार भविष्यको पेशा छनोट गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।

कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार सानैदेखि श्रमप्रति सम्मानको भावना विकास गराउँदै रोजगारीका लागि आवश्यक व्यावहारिक सीपबारे जानकारी दिन कार्यक्रम ल्याइएको हो।

हाल नगरपालिकाभित्रका बौद्धधाम, कृष्णाश्रम, सिंहदेवी, फिक्कल, कर्फोक, जनक, सरस्वती र ज्योति माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइएको छ। यसबाट विद्यार्थीले विभिन्न पेशा, उद्योग र कम्पनीको कार्यप्रणाली नजिकबाट बुझ्ने अवसर पाउनेछन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्योग तथा व्यवसायमा प्रत्यक्ष भ्रमण गराइने, स्थानीय व्यवसायी र विज्ञसँग अन्तरक्रिया गराइने तथा प्रेरणादायी अनुभव आदानप्रदान गराइनेछ। साथै बायोडाटा लेखन, अन्तर्वार्ता तयारी र प्रभावकारी सञ्चार सीपजस्ता व्यावहारिक तालिम पनि दिइने सामाजिक विकास समिति संयोजक डिकबहादुर बम्जनले जानकारी दिए।

नगरपालिकाले यस अभियानमार्फत विद्यार्थीमा उद्यमशील सोच विकास गर्ने र भविष्यमा आत्मनिर्भर बन्ने आधार तयार गर्ने विश्वास लिएको छ।

यसैबीच, नगरले शिक्षा क्षेत्रमा अन्य सुधारका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। प्रवक्ता ख्याम भुजेलका अनुसार ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत अतिरिक्त क्रियाकलाप, ‘हाम्रो सूर्योदय’ नामक स्थानीय पाठ्यक्रम लागू, तथा गणित सुधारका लागि विशेष अभ्यास पुस्तिका वितरण भइरहेको छ।

सबै सामुदायिक विद्यालयमा इन्टरनेट र कम्प्युटर सुविधा विस्तार गरिएको छ भने प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिइएको छ।

यस्तै, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, विद्यालयमा ईहाजिरी प्रणाली, अभिभावक परिचयपत्र व्यवस्था र साना कक्षाका विद्यार्थीका लागि बैंक खाता खोल्ने जस्ता कार्यक्रम पनि कार्यान्वयनमा छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ