निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
604
Shares
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभामा हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेद्वारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन्।
महासंघको आगामी निर्वाचन प्रक्रियालाई लक्षित गर्दै मल्लले सबै उम्मेद्वारहरू सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे।
उनले निर्वाचनमा हार-जित स्वाभाविक प्रक्रिया भएको तर निर्वाचनपछि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले निजी क्षेत्रका विभिन्न संघ-संस्थाहरूबीचको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘आजको आवश्यकता भनेकै उद्यमी व्यवसायीको एकता हो । यो चुनाव हुन्छ, कोही हार्लान् कोही जित्लान्, तर चुनाव सकिएपछि हामी हातेमालो गरेर सँगै जानुपर्छ । हामीले विगत धेरै वर्षदेखि सहकार्य गरिरहेका छौं र यही रूपले हामी सहकार्य गरेर अगाडि बढ्नेछौँ।’
नेपालको निजी क्षेत्रले हाल भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।
उनले व्यवसायीहरूका साझा समस्या समाधानका लागि सामूहिक प्रयासको विकल्प नरहेको स्पष्ट पारे।