काठमाडौँ । क्षेत्रीय सुरक्षा चुनौती चर्किएसँगै जापानले आफ्नो रक्षा नीतिमा ठूलो परिवर्तन गर्दै पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी प्रान्त कुमामोटोको क्याम्प केङ्गुनमा 'टाइप–१२' ल्यान्ड–टु–शिप मिसाइलको अत्याधुनिक संस्करण सञ्चालनमा ल्याइएको छ। यस कदमले जापानको सैन्य क्षमतामा आक्रामक विस्तार भएको सङ्केत दिएको छ।
मित्सुबिशी हेभी इन्डस्ट्रिजले विकास गरेको यो मिसाइलको मारक क्षमता पुरानो २०० किलोमिटरबाट बढाएर एक हजार किलोमिटर पुर्याइएको छ। यसले जापानलाई आफ्नो क्षेत्रभन्दा टाढा रहेका सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ। रक्षामन्त्री सिन्जिरो कोइजुमीले वर्तमान सुरक्षा वातावरणलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा जटिल र गम्भीर भन्दै यो क्षमता देशको सुरक्षाका लागि अनिवार्य रहेको बताए। उनले यो मिसाइल प्रणालीले जापानको आत्मरक्षाप्रतिको दृढता झल्काउने उल्लेख गरे।
यद्यपि, यो सैन्य विस्तारले स्थानीयस्तरमा भने चिन्ता र विरोध निम्त्याएको छ। क्याम्प केङ्गुन वरपरका बासिन्दाले मिसाइल तैनाथीले आफ्नो क्षेत्रलाई सम्भावित आक्रमणको निशाना बनाउन सक्ने भन्दै प्रदर्शन गरेका छन्। उनीहरूले यस्ता कदमले क्षेत्रीय तनाव झन् बढाउने तर्क गरे।
जापानले यो प्रणालीलाई कुमामोटोमा मात्र सीमित नराखी सन् २०२८ सम्म होक्काइडोदेखि मियाजाकीसम्मका विभिन्न स्थानमा विस्तार गर्ने योजना बनाएको छ। साथै, सिजुओका प्रान्तको क्याम्प फुजीमा टापु रक्षाका लागि हाइपरसोनिक ग्लाइड वाहन समेत तैनाथ गरिएको छ। यसका अतिरिक्त जापानले अमेरिकी टोमहाक क्रूज मिसाइलहरू पनि आफ्ना नौसैनिक विध्वंसक जहाजहरूमा समावेश गर्ने तयारी गरेको छ।
विशेष गरी चीनको बढ्दो सैन्य गतिविधिलाई प्रमुख सुरक्षा चुनौती मान्दै प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले आगामी वर्षका लागि ९० खर्ब येनभन्दा बढीको रक्षा बजेट स्वीकृत गरेको छ। यो बजेटमार्फत तटीय सुरक्षा सुदृढ बनाउने, मानवरहित हतियार प्रणाली विकास गर्ने र प्रशान्त क्षेत्रमा चीनको गतिविधि अध्ययन गर्न नयाँ कार्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ। ताइवानसँग जोडिन सक्ने सम्भावित सङ्कटलाई ध्यानमा राख्दै जापानले चालेको यो कदमले क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ बहस सिर्जना गरेको छ।