मध्यपूर्व तनावबीच रूसले ठोस समाधान प्रस्ताव गर्न सक्ने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
1.9k
Shares
काठमाडौँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य पूर्वमा जारी तनाव र इरान युद्धका बीच विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई नयाँ स्वरूप दिन रूसले ठोस समाधान प्रस्ताव गर्न सक्ने बताएका छन्। यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो 'अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापन मामिला मञ्च' मा भाग लिने क्रममा उनले यस्तो धारणा राखेका हुन्।
विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापन हाल महत्त्वपूर्ण सङ्कटका बीच गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रपति पुटिनले यसको समाधानका लागि रूससँग नयाँ र भरपर्दो प्रस्ताव रहेको दाबी गरे। विशेष गरी इरान र इजरायलबीचको द्वन्द्वले विश्वव्यापी ऊर्जा बजार र रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मुज' हुँदै हुने तेल तथा ग्याँसको ढुवानीमा गम्भीर असर पुर्याइसकेको उनले बताए।
राष्ट्रपति पुटिनका अनुसार अहिलेका विश्वका देश र ठूला कम्पनीहरूले ढुवानीको गति र लागतमा मात्र नभई यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाको सुरक्षा एवं लचिलोपनमा समेत विशेष जोड दिइरहेका छन्। उनले रूसले एउटा यस्तो नयाँ विश्वव्यापी रसद ढाँचा निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए, जसले आर्थिक रूपमा कुशल हुनुका साथै अन्तर्राष्ट्रिय यातायात प्रवाहलाई विविधीकरण गर्न समेत सक्षम मार्गहरू प्रदान गर्नेछ।
आफ्नो सम्बोधनका क्रममा नेता पुटिनले यातायात र रसदको विकासलाई पूर्ण समर्थन गर्ने, संयुक्त वैज्ञानिक तथा प्राविधिक कार्यक्रमहरू अगाडि बढाउने र यस क्षेत्रका विशेषज्ञहरूलाई उच्चस्तरीय तालिम दिन रूस सदैव तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे। पश्चिमा देशहरूको प्रतिबन्धका बीच रूसले उत्तरी सामुद्रिक मार्ग र उत्तर-दक्षिण यातायात करिडोरलाई वैकल्पिक व्यापारिक मार्गको रूपमा अघि सार्न खोजिरहेको सन्दर्भमा पुटिनको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।