काठमाडौँ । अबदेखि सार्वजनिक बिदाका दिन पनि गोश्वारा हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउन र विदेशबाट आएका पार्सलहरू छुटाउन सकिने भएको छ। गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए तापनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपास र राजस्व भुक्तानीमा ठूलो समस्या हुने गरेको थियो।
अन्तरनिकाय समन्वयको अभावमा सेवा प्रभावित भइरहेको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनमा हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरी बिदाको दिन पनि सहजै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया अगाडि बढाएको हो।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार अन्तर्राष्ट्रिय कुरियर र मालसामान हुलाकका लागि बिदामा पनि कार्यालय खुल्ने गरे पनि त्रिभुवन विमानस्थल भन्सारको शाखा नखुल्दा जाँचपासमा समस्या थियो, जसको समाधानका लागि अहिले भन्सार विभागसँग आवश्यक पत्राचार भइसकेको छ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाकस्थित भन्सार शाखालाई सार्वजनिक बिदामा समेत सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको जानकारी दिएका छन्। साथै राजस्व भुक्तानीका लागि त्यहाँस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखालाई पनि बिदाको दिन खुला राख्न पहल भइरहेको छ।
गत फागुन महिनामा मात्र गोश्वारा हुलाक कार्यालयबाट १९ हजार २०० भन्दा बढी वस्तुहरू विदेशबाट आएका थिए भने ११ हजार ७०० हाराहारी वस्तु निर्यात भएका थिए, जसबाट २९ लाख चार हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको थियो। सार्वजनिक बिदाको दिन पनि कार्यालय र भन्सार सुचारु हुँदा नागरिकले छिटो र सहज सेवा पाउने मात्र नभई कार्यालयको व्यावसायिक नतिजा र राजस्व प्राप्तिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यस नयाँ व्यवस्थाले विशेष गरी विदेशबाट सामान मगाउने र पठाउने सर्वसाधारण तथा व्यवसायीहरूलाई ठूलो राहत पुग्ने देखिएको छ।