'नीति र नियत' सफा राखेर आर्थिक सुधार गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
856
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले जनअपेक्षा र अभूतपूर्व जनादेशलाई आत्मसात् गर्दै मुलुकको अर्थतन्त्र सुधारको ठोस बाटोमा अगाडि बढिरहेको बताएका छन्। पर्साको वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्व–बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको मत सुधार र सुशासनका लागि भएको स्पष्ट पारे। विगतका सरकारहरूलाई जस्तो वर्तमान सरकारलाई गल्ती गर्ने वा ढिलासुस्ती गर्ने कुनै छुट नभएको उल्लेख गर्दै उनले जनताले आर्थिक रूपान्तरणकै लागि म्यान्डेट दिएको जिकिर गरे।
बारा र पर्साका उद्योगी व्यवसायीहरूका गुनासो र सुझाव सुन्दै मन्त्री वाग्लेले आगामी बजेट आर्थिक रूपान्तरणको मूल ध्येयमा केन्द्रित हुने विश्वास दिलाए। उनले नीति सही र नियत सफा भएमा मुलुकमा धेरै सकारात्मक काम गर्न सकिने बताउँदै सरकारको लक्ष्य स्पष्ट रहेको जानकारी दिए। प्रधानमन्त्री बालेन्द्र शाहले जनतालाई सास्ती नहुने गरी प्रत्यक्ष राहत दिने काममा लाग्न निर्देशन दिइसकेकाले सरकार सोही दिशामा दृढताका साथ अघि बढ्ने उनको भनाइ थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल, पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, वीरगन्ज भन्सारका प्रमुख प्रशासक तथा विभिन्न राजस्व कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। औद्योगिक कोरिडोरका व्यवसायीहरूले उठाएका कर नीति, भन्सार सहजीकरण र औद्योगिक वातावरण सुधारका विषयलाई आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता समेत मन्त्री वाग्लेले व्यक्त गरे। विशेष गरी वीरगन्ज क्षेत्रको आर्थिक महत्त्वलाई बुझेर सरकारले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे।