सभामुखमा निर्वाचित भएपछि खुशीयाली मनाउँदै डोलप्रसाद अर्याल [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
819
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले खुशीयाली मनाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै उनले रास्वपा लगायतका दलका सांसदहरूसँग खुशीयाली मनाएका हुन् ।
सभामुख भएसँगै दलको सदस्यतासमेत त्याग्नुपर्ने चलन छ । सभामुखलाई तटस्थ पद भनिएकाले दलको सदस्यता त्याग्ने चलन रहँदै आएको हो । सत्ता पक्षको र सदन विपक्षको हुने भएकाले पनि सभामुख तटस्थ हुनुपर्ने औँल्याइन्छ ।
अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनुअघि प्रतिनिधि सभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले र कानून मन्त्री सोविता गौमतले समर्थन गर्दै आफ्नो धारणा राखेका थिए ।
अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
एक जनाको मात्रै उम्मेदवारी परेसँगै ज्येष्ठ सदस्य केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा अर्याल काठमाडौँ क्षेत्र नम्बर–९ बाट विजयी भएका थिए । उनी ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा अर्याल समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए ।