सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रभाव नेप्सेमा, एकै दिन सय अंकको गिरावट
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
795
Shares
काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ। कारोबार शुरू भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो ।
दिउँसो १ः२७ बजेसम्म नेप्से परिसूचक ९७.६१ अंकले घटेर २६८४.४२ विन्दुमा झरेको छ । बजारमा प्यानिक सेल बढेपछि सबै उपसमूहका सूचकहरू राताम्मे भएका छन् ।
साढे १ बजेसम्मको अवधिमा बजारमा ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेका अनुसार कारोबारमा आएकामध्ये अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ ।
विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नेगेटिभ सर्किट लागेको छ । हालै आइपीओ जारी गरेका केही कम्पनीबाहेक अन्य सबैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बजारमा देखिएको यो उच्च गिरावटको मुख्य कारण सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्र बनाउनु रहेको विश्लेषण गरिएको छ ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाउँदै केही ‘बिचौलिया’ हरूलाई समेत पक्राउ गर्न थालेपछि ठूला लगानीकर्ताहरू त्रसित बनेका छन् ।