देश र जनताको हितका निम्ति सधैँ तटस्थ रहेर काम गर्छु : सभामुख अर्याल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
642
Shares
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले देश र जनताको हितका निम्ति सधैँ तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कानून निर्माण र त्यसको कार्यान्वयनमा निष्ठा र निष्पक्षताका साथ लाग्ने बताएका हुन्।
सभामुख अर्यालले संविधान संशोधन र नयाँ कानून निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गर्दा आफूले देश र जनतालाई केन्द्रमा राख्ने स्पष्ट पारे।
"विकास, समृद्धि र खुसी प्राप्त गर्न एक दिन पनि ढिलाइ गर्नु हुँदैन भन्ने मेरो बुझाइ हो," उनले भने, "त्यसकारण सबैले महसुस गर्ने गरी आफ्ना जिम्मेवारीहरू पूरा गर्नेछु।"
उनले जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) बाट कानून निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता समेत जनाए।
यसका साथै राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याइरहने उनले बताए।