नवनिर्वाचित बाह्र समितिका सभापति चयन, खाए शपथ, गरे पदबहाली [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
773
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रतिनिधि सभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले सपथ लिएका हुन् ।
नवनिर्वाचितहरूमा अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्वाचित भएका हुन् ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी निर्वाचित भएका छन् ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा ओजस्वी शेरचन, संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा गणेश कार्की निर्वाचित भएका छन् ।
शिक्षा समिति र राज्यका निर्देशकमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा रास्वपाका उम्मेदवार निर्वाचित हुनुभएको हो । सभापति चयन गर्न भएको समितिको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गर्नुभएको थियो ।
निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका छन् ।
नवनिर्वाचित सभापतिहरूले शुक्रबारै आफ्नो समितिको कार्यालयमा पदबहाली पनि गरेका छन् ।