बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा: २५०१ वर्ष पुरानो परम्परा र सांस्कृतिक उल्लास
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
601
Shares
काठमाडौँ । काभ्रेको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ। शक्तिकी अधिष्ठात्री देवी चण्डेश्वरीले चण्डासुर दैत्यको वध गरेको खुसीयालीमा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा (चण्डी पूर्णिमा) देखि तीन दिनसम्म यो जात्रा भव्य रूपमा मनाइन्छ। यस वर्ष यही वैशाख १८ गतेदेखि २० गतेसम्म जात्रा सञ्चालन हुने तयारी छ।
बनेपावासीका लागि यो जात्रा महान् पर्व हो। जात्राको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने सरकारी तरबार (खड्ग) र सरकारी पूजाले यसको महत्त्वलाई अझ बढाएको छ। जात्राको पहिलो दिन बिहान सबेरै 'मत पूजा' (चिराग यात्रा) बाट उत्सवको सुरुवात हुन्छ, जहाँ भक्तजनहरू चिराग बोकेर बाजागाजासहित पुण्यश्वर महादेवसम्म पुग्छन्।
तुलसीको काठबाट निर्मित विशेष खटमा देवी चण्डेश्वरीलाई रथारोहण गराई नगर परिक्रमा गराइन्छ। स्थानीय युवाहरूले 'ल्हाका पालुं हाः' भन्दै उत्साहका साथ खट बोक्छन् भने घरका झ्यालहरूबाट भक्तजनहरूले प्रसाद र पूजा चढाउँछन्। जात्राको दोस्रो दिन बकुटोलमा भव्य पूजा र बलि दिने परम्परा छ।
जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्रका १२ वटा पिगं देवताहरूलाई बोका बलि दिइन्छ। बलिको मासु प्रसादका रूपमा भीडमा फाल्ने गरिन्छ, जसलाई 'कलंदान' भनिन्छ। यो प्रसाद ग्रहण गर्न भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।
किंवदन्तीअनुसार दैत्यराज चण्डासुरले कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएपछि स्वर्ग र धर्तीमा हाहाकार मच्चाएका थिए। देवताहरू ज्यान जोगाउन बनेपाको रक्तचन्दन वनमा लुक्न पुगेका थिए। सोही स्थानमा रहेको चम्पक वृक्षबाट प्रकट भएकी कुमारी चण्डेश्वरीले भगवतीको रूप धारण गरी चण्डासुरको वध गरेकी थिइन्। सोही विजयको सम्झनामा यो जात्रा सुरु भएको मानिन्छ।
जात्रा अवधिभर बनेपा र आसपासका विद्यालय एवं संघसंस्थाहरू बन्द रहन्छन्। जहाँसुकै बसाइँ सरेर गएका बनेपालीहरू पनि यो जात्रामा सहभागी हुन अनिवार्य रूपमा घर फर्कने गर्दछन्। मानन्धर, भोछिभोया, राजवाहकलगायत नेवार समुदायको प्रत्यक्ष सम्बन्ध रहेको यो जात्राले बनेपाको प्राचीन सभ्यता र धार्मिक आस्थालाई जीवन्त राखेको छ।