नबिल बैङ्कद्वारा ग्राहक सूचनाको गोपनीयता भङ्ग गरेको भ्रामक प्रचारको खण्डन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
313
Shares
फाइल तस्बिर
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आफूले ग्राहकको गोपनीयता भङ्ग गरी कारोबार सम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसारप्रति गम्भीर ध्यानाकर्षण गर्दै उक्त भ्रामक सूचनाको स्पष्ट खण्डन गरेको छ।
यस्ता भ्रमपूर्ण सम्प्रेषणले बैङ्किङ सेवाप्रतिको जनविश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएको बैङ्कले जनाएको छ।
मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू” शीर्षकको समाचारमा अनुसन्धानरत निकायबाट प्राप्त बैङ्किङ कारोबार विवरण उल्लेख गरिएको थियो। उक्त समाचारलाई बङ्ग्याएर केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत बैकविरुद्ध नियोजित दुष्प्रचार गरेकोप्रति बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ।
बैङ्कले स्पष्ट पार्दै भनेको छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयम्, निजको आधिकारिक प्रतिनिधि वा नियामकीय तथा अनुसन्धानकारी निकायले कानूनी प्रक्रिया अनुसार मागेको अवस्थामा बाहेक अन्य कुनै सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराइँदैन, गराइएको छैन र गराइने पनि छैन।
कुनै ग्राहकको विवरण निकालिएको भए पनि बैङ्कको कोर बैङ्किङ प्रणालीमा कुन मितिमा, कुन कर्मचारीले र कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत सुरक्षित रूपमा अभिलेखित रहेको छ।
नबिल बैङ्कले बैङ्कमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरूलाई गलत, भ्रामक तथा आधारहीन बताएको छ। इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैङ्कको हैसियतले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन र आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न बैङ्क कटिबद्ध रहेको जनाएको छ।
बैङ्किङ गोपनीयता कायम राख्नु तथा ग्राहक सूचनाको संरक्षण गर्नु बैङ्किङ नैतिकता र अनुपालनको आधारभूत सिद्धान्त हो। नबिल बैङ्कले यस सम्बन्धमा सधैँ उच्चतम मापदण्ड तथा अभ्यासहरू पालना गर्दै आएको छ। चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको बैङ्कले कुनै ग्राहकको व्यक्तिगत विवरण अनधिकृत व्यक्तिलाई हस्तान्तरण गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ।
बैङ्कले सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बङ्ग्याएर दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न आग्रह गरेको छ। साथै, नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाही प्रक्रिया अघि बढाउने बैङ्कले चेतावनी दिएको छ।
नबिल बैङ्कले सम्पूर्ण ग्राहक वर्ग तथा सरोकारवालाहरूलाई यस्ता दुष्प्रचारमा विश्वास नगर्न अनुरोध गर्दै ग्राहक गोपनीयतामा सधैँ सचेत रही उच्चतम प्रविधिमार्फत सुरक्षित सेवा प्रदान गर्दै आएको र भविष्यमा पनि निरन्तर गुणस्तरीय तथा विश्वसनीय सेवा दिन कटिबद्ध रहेको पुनः विश्वास दिलाएको छ।