arrow

आजदेखि कक्षा १२ को राष्ट्रिय परीक्षा शुरू 

चार लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
12-exam.jpg

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज सोमबारदेखि देशभरका ७७ वटै जिल्लामा एकैसाथ शुरू भएको छ। बिहान ८:०० बजेदेखि शुरू भएको यो परीक्षा आगामी वैशाख २७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। 

तथ्याङ्कअनुसार यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थीहरू सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिक अर्थात् ग्रेड वृद्धितर्फ ८५ हजार ८३० जना विद्यार्थीहरू रहेका छन्। विशेषगरी विसं २०७९ र त्यसपछिका शैक्षिक सत्रका विद्यार्थीहरू आंशिक परीक्षामा सामेल भएका छन् भने देशभर १,५२५ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षालाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बोर्डले कडा सुरक्षा व्यवस्थाका साथै विशेष अनुगमन टोली समेत परिचालन गरेको छ। परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी र अन्य इलेक्ट्रोनिक उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ। 

परीक्षा नियन्त्रकका अनुसार सबै केन्द्रमा प्रश्नपत्रहरू अनलाइन र भौतिक दुवै माध्यमबाट सुरक्षित रूपमा पठाइएको थियो भने विद्यार्थीहरूलाई परीक्षा शुरू हुनुभन्दा आधा घण्टा अगावै केन्द्रमा प्रवेश गराइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ