काठमाडौँ । काठमाडौं महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिँदै तीनकुनेस्थित गैरीगाउँको सुकुमवासी बस्तीमा रहेका पक्की घरहरूमा डोजर चलाएको छ।
गत शनिबार महानगरले गैरीगाउँ पुगेर सुकुमवासी बस्तीका अस्थायी टहराहरू भत्काए पनि पक्की संरचनाहरू भने बाँकी राखेको थियो। सोही अभियानको निरन्तरता स्वरूप आज सोमबार बाँकी रहेका ती पक्की घरहरूलाई डोजरको प्रयोग गरी पूर्ण रूपमा भत्काइएको हो।
महानगरले यसअघि शनिबार नै थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्ती र मनोहरा क्षेत्रमा रहेका अनधिकृत बस्तीहरू समेत खाली गराइसकेको छ। नदीको बहाव क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाएर सहरको सौन्दर्यीकरण र बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कदम चालिएको हो।