अध्यादेशमार्फत शासन चलाउनु संसदीय प्रणालीमाथिको हस्तक्षेप: बादल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
1.7k
Shares
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले अध्यादेशमार्फत ऐन बनाउन खोज्ने सरकारको कदमलाई संसदीय प्रणालीमाथिको हस्तक्षेप भनी टिप्पणी गरेका छन्।
बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानले संसद् नबसेको अवस्थामा अध्यादेश सिफारिस गर्न सक्ने व्यवस्था गरे तापनि अहिलेको परिस्थिति त्योभन्दा बिल्कुलै भिन्न र उल्टो रहेको स्पष्ट पारे। आह्वान गरिसकेको संसद्लाई स्थगित गरेर अध्यादेश जारी गर्नु अलोकतान्त्रिक, असंवैधानिक र असंसदीय कदम भएको उनको ठहर छ।
विगतका सरकारहरूले संसद् अधिवेशन नभएको अवस्थामा मात्र अध्यादेश ल्याउने गरेको स्मरण गराउँदै थापाले अहिले भने सदनलाई नै पन्छाएर अध्यादेशको बाटो रोजिएकोमा आपत्ति जनाए।
उनका अनुसार संसद्को मुख्य भूमिका ऐन निर्माण गर्नु हो भने सरकारको जिम्मेवारी ती ऐन र कानुनहरूको कार्यान्वयन गर्नु मात्र हो। सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्रमा अतिक्रमण गरेर आफैँ ऐन बनाउन खोज्नु लोकतान्त्रिक मूल्य-मान्यताको विरुद्ध रहेको उनले बताए।
सरकारले यसरी नै व्यवस्थापिकाको क्षेत्राधिकार मिचेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजे विपक्षी दलहरू एकजुट भएर सशक्त प्रतिवाद गर्ने चेतावनी समेत उनले दिएका छन्। संसद्लाई छलेर चोर बाटोबाट कानुन ल्याउने प्रवृत्तिले संसदीय व्यवस्थालाई नै कमजोर बनाउने उनको विश्लेषण छ।