मनोहरा नदीको धार परिवर्तनबाट सरेको ११५ रोपनी जग्गा व्यवस्थापनमा महानगर
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
314
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोहरा नदीको बहाव परिवर्तनका कारण स्थानान्तरण भएको ११५ रोपनी जग्गाको प्राविधिक र प्रशासनिक व्यवस्थापन प्रक्रियालाई तीव्रता दिएको छ।
नदी किनारका अव्यवस्थित बस्तीहरू हटाइसकेपछि महानगरले जग्गा संरक्षण र नदीको साविककै बहाव क्षेत्र कायम गराउने कार्यलाई आफ्नो प्राथमिकतामा राखेको महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। महानगरले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार नदीको धारलाई पुरानै अवस्थामा फर्काउनका लागि आवश्यक परामर्श र गृहकार्य सुरु गरिएको छ।
स्वीकृत डिपिआरअनुसार मनोहरा नदी २०२१ सालको नापी नक्साबमोजिमको स्थानमा हुनुपर्ने भए तापनि समयक्रममा नदीको बहाव पश्चिमतर्फ सरेको पाइएको छ। यस प्राकृतिक परिवर्तनले गर्दा काठमाडौँतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ पुगेको छ भने भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ।
यो प्राविधिक समस्या सुल्झाउन कार्यवाहक प्रमुख डङ्गोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र आयोजना प्रमुख निर्मलराज बरालसँग नक्सा अध्ययन गर्दै कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गर्न निर्देशन दिएकी छन्। नदी किनाराका अव्यवस्थित बस्तीका कारण यसअघि रोकिएका कामहरू अब द्रुत गतिमा अघि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउने महानगरको योजना रहेको छ।
कार्यवाहक प्रमुख डङ्गोलले बस्ती खाली गराइएका स्थानमा निर्माणजन्य सामग्रीको उचित व्यवस्थापन गर्न र ती क्षेत्रलाई तत्काल बारबेर गरेर संरक्षण गर्न जोड दिएकी छन्। साथै, सो क्षेत्रबाट आफूलाई भूमिहीन भनेर विवरण बुझाएका व्यक्तिहरूको उचित व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राखिएको उनले बताइन्।
आयोजना प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर बहाव क्षेत्रमध्ये केवल ५७५ मिटर मात्र साविकको अवस्थामा रहेको छ भने बाँकी खण्डमा धार परिवर्तन भएको छ। भक्तपुरतर्फ जग्गा सरेको स्थानमा रहेका पक्की घरटहरा र अस्थायी संरचनाहरू भत्काएर मानवीय बसोबास खाली गराइसकेपछि अहिले ती स्थानमा जग्गा पुनर्संरचना (रिप्लटिङ) को प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ।