अन्तर्राष्ट्रिय समुदायको बढ्दो दबाबलाई मत्थर पार्ने सैनिक रणनीति
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
417
Shares
काठमाडौँ । पाँच वर्षदेखि हिरासतमा राखिएकी म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई त्यहाँको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ। जुन्ता प्रमुखबाट हालै नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश जारी गरेका हुन्। यस कदमलाई अन्तर्राष्ट्रिय समुदायको बढ्दो दबाबलाई मत्थर पार्ने सैनिक रणनीतिका रूपमा हेरिएको छ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८० वर्षीया सुकीको सजायको स्वरूप परिवर्तन गरिएको उल्लेख छ, तर उनलाई कहाँ राखिने भन्ने कुरा स्पष्ट पारिएको छैन। सार्वजनिक गरिएको एउटा तस्बिरमा उहाँ दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ। सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उनलाई राजधानी नेपिडोको कुनै सुरक्षित स्थानमा राखिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना भने गोप्य राखिएको छ।
नेपिडोस्थित एक प्रहरी स्रोतले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको जानकारी दिए। उनका अनुसार ‘तोकिएको निवास’ पूर्ण रूपमा सुरक्षा निकायको नियन्त्रणमै रहनेछ। सुकीको सजाय कति बाँकी छ भन्नेबारे पनि सरकारी पक्षले केही खुलाएको छैन।
यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ। संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित सङ्केत’ भएको बताए। यद्यपि सुकीका वकिलहरूले भने उनी अझै पनि अन्यायपूर्ण रूपमा स्वतन्त्रताबाट वञ्चित रहेको उल्लेख गरेका छन्।
सन् २०२१ मा सैनिक कू मार्फत सत्ता कब्जा गरेपछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले सुकीको निर्वाचित सरकार अपदस्थ गर्दै उनलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो। अधिकारवादी समूहहरूले ती आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्। त्यसयता म्यानमार गृहयुद्धमा फसेको छ, जसका कारण हजारौँले ज्यान गुमाएका छन् भने लाखौँ मानिस विस्थापित भएका छन्।
हालै सम्पन्न विवादास्पद चुनावपछि नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले एनएलडीलाई राजनीतिक प्रक्रियाभन्दा बाहिर राखेका थिए। चुनावमा आलोचना वा विरोध गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थियो भने द्वन्द्वग्रस्त क्षेत्रमा मतदान नै हुन सकेन। लोकतन्त्रका पक्षधरहरूले यसलाई सैनिक शासनलाई वैधानिक देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
विश्लेषकहरूका अनुसार सुकीलाई नजरबन्दमा सार्ने निर्णय पनि त्यही रणनीतिको निरन्तरता हुन सक्छ। सुकीका छोरा किम एरिसले यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास भएको बताए। उनले सुकीलाई परिवार र कानुनी टोलीसँग सम्पर्क गर्न दिइनुपर्नेमा जोड दिए।
देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा छिन्। उनको परिवारले स्वास्थ्यप्रति निरन्तर चिन्ता व्यक्त गर्दै आएको छ। यसैबीच, मिन आङ ह्लाइङले सुकीका निकट सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि हालै क्षमादान दिएका छन्। जसलाई महत्त्वपूर्ण राजनीतिक सङ्केतका रूपमा हेरिएको छ।