फिर्ता भएको अध्यादेश पुनः सिफारिस गर्ने लगायत यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू [भिडियो]
विश्व बैंकको सहयोग स्वीकार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
494
Shares
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट पुनर्विचारका लागि फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार यसअघि आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। सरकारले सोही अध्यादेशलाई कुनै परिवर्तन बिना पुनः सिफारिस गर्ने निर्णय लिएको हो।
बैठकले कृषि क्षेत्रका लागि आवश्यक मल आपूर्ति गर्न भारतसँग जीटुजी (सरकार-सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने निर्णय समेत गरेको छ। यस खरिद प्रक्रियाका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। यसैगरी, औद्योगिक क्षेत्रको आधुनिकीकरण र वातावरणीय सुधारका लागि परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न र वायु गुणस्तर मापन क्षमता बढाउन विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय भएको छ।
बैठकले संघीय संसद् भवन परिसरमा प्रवेश लगायतका महत्त्वपूर्ण विषयहरू समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजनालाई समेत स्वीकृत गरेको छ।
सीमा क्षेत्रमा देखिएका विवाद र छिमेकी मुलुकहरूले नेपाली भूमिमा गरेका गतिविधिप्रति सरकारले कुटनीतिक नोटमार्फत विरोध जनाएको जानकारी दिँदै मन्त्री पोखरेलले यस्ता समस्यालाई संवादमार्फत समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।