केएमसी दुवाकोटले सुकुमवासी बिरामीको उपचार निःशुल्क गर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
250
Shares
काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)ले सुकुम्बासीलाई निःशुल्क उपचार गर्ने भएको छ ।
भक्तपुरको दुवाकोटमा रहेको केएमसी युनिट-२ ले सुकुमवासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
काठमाडौँ उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती खाली गराउने क्रममा त्यहाँ बसोवास गर्ने नागरिकहरूमा स्वास्थ्य समस्या बढ्दै गएको केएमसीले जनाएको छ ।
वर्षायाम शुरू भएसँगै यस्तो समस्या थप जटिल बन्दै गएकोले मानवीय संवेदनालाई मध्यनजर गर्दै केएमसी निःशुल्क उपचार सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।
अस्पतालकाअनुसार उपत्यकासहित देशका विभिन्न स्थानबाट प्रभावित भएका बिरामीहरूले उक्त अस्पतालमा पुगेर सेवा लिन सक्नेछन् ।
अस्पतालले बिरामीलाई सहज रूपमा अस्पतालसम्म पुर्याउन सहयोग गर्न पनि नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेको छ ।
कलेजका अनुसार औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध अन्य सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ ।