संसदीय समितिहरूका लागि एकद्वार उजुरी प्रणाली शुरू [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
266
Shares
काठमाडौँ । संघीय संसद सचिवालयले संसदीय समितिहरूको उजुरी व्यवस्थापनलाई थप सरल, प्रभावकारी र व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गरेको छ । सार्वजनिक चासोका विषयमा नागरिकका गुनासो, सुझाव वा उजुरीहरू एउटै स्थानबाट दर्ता गर्ने उद्देश्यले सचिवालयले ‘जनसम्पर्क–दर्ता चलानी एकाई’ स्थापना गरेको संघीय संसदका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसअघि सेवाग्राहीले सम्बन्धित समितिको सचिवालयमै भौतिक रूपमा पुगेर उजुरी दर्ता गर्नुपर्ने बाध्यता थियो, जसले गर्दा नागरिकलाई समितिको कार्यालय खोज्न अलमल हुने र व्यवस्थापनमा समेत कठिनाइ हुने गरेको थियो ।
प्रवक्ता गिरीका अनुसार एउटै विषयका उजुरीहरू धेरै ठाउँमा दर्ता हुँदा प्रक्रियामा जटिलता र दोहोरोपनाको समस्या देखिएकाले नयाँ प्रणालीमार्फत यसलाई व्यवस्थित गर्न लागिएको हो ।
सभाका नियमावलीहरूमा उजुरी लिन सकिने व्यवस्था भए पनि अबदेखि यो एकाईमा खटिएका प्रतिनिधिमार्फत सबै उजुरी सङ्कलन गरिनेछ । यस नयाँ व्यवस्थाले समितिका सचिवालयहरूलाई उजुरी व्यवस्थापनको कार्यबोझबाट मुक्त गराई उनीहरूको कार्यदक्षता बढाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो एकाईले प्राप्त भएका उजुरीहरूलाई दर्ता र वर्गीकरण गरी सम्बन्धित समितिहरूमा पठाउने जिम्मेवारी पूरा गर्नेछ । सेवाग्राहीको सहजता र संसदीय अभ्यासको प्रभावकारितालाई ध्यानमा राखेर चालिएको यो कदमले नागरिक र संसदीय समितिहरूबीचको सम्बन्धलाई अझ नजिक बनाउने अपेक्षा गरिएको छ ।