मुम्बईले गर्यो उच्च रन चेज, लखनउ छ विकेटले पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
230
Shares
काठमाडौँ । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो सबैभन्दा उच्च रन चेज गरेको छ । सोमबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईले जारी सिजनमा लगातार तीन हारपछिको पहिलो जित दर्ता गरेको हो ।
वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२८ रनको योगफल तयार पारेको थियो । २२९ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमै ४ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो । विल ज्याक्सले आवेश खानको बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमान्चक जित दिलाएका थिए ।
लक्ष्य पछ्याउने क्रममा मुम्बईका ओपनरहरूले टोलीलाई विष्फोटक सुरुवात दिलाए जसमा रोहित शर्मा र रायन रिकेल्टनको जोडीले मात्र ६५ बलमा १४३ रनको सानदार ओपनिङ साझेदारी गरे । कप्तान रोहित शर्माले ४४ बलमा ६ चौका र ७ छक्काको मद्दतले ८४ रनको योगदान दिए भने रायन रिकेल्टनले ३२ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८३ रनको विष्फोटक इनिङ खेले ।
लखनउका तर्फबाट निकोलस पुरनले १ चौका र ८ छक्काको मद्दतले ६३ रनको अर्धशतकीय पारी खेल्नुका साथै ओपनर मिचेल मार्ससँग ३५ बलमा ९४ रनको साझेदारी गरेका थिए । मार्स ४४ रन बनाएर आउट भए भने एडन मार्करम ३१ र हिम्मत सिंह ४० रनमा अविजित रहे ।
बलिङतर्फ मुम्बईका कोर्बिन बशले २ विकेट लिए भने अल्लाह गजनफर, विल ज्याक्स र रघु शर्माले एक–एक विकेट हात पारे ।