काठमाडौँ । मुगुमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्लाका एक वडाध्यक्ष पक्राउ परेका छन् । जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षीय वडाध्यक्ष दत्त बहादुर बुढालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
पीडित महिलाले आफूलाई पटक-पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको उल्लेख गर्दै वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले आरोपित बुढालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन बाबु रेग्मीका अनुसार पक्राउ परेका वडाध्यक्षमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइसकेको समेत प्रहरीले जनाएको छ ।