काठमाडौँ । सङ्घीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरण सङ्कलन गर्ने कार्य शुरू गरिएको छ। आगामी संसद् अधिवेशनको पूर्वसन्ध्यामा संसद्को आन्तरिक प्रणालीलाई थप आधुनिक, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।
संसद् सचिवालयका अनुसार यतिबेला संसद् सदस्यहरूको व्यक्तिगत विवरण, फोटो र औँलाको छाप (फिंगरप्रिन्ट) सङ्कलन गर्ने काम भइरहेको छ। यस कार्यले संसद्को उपस्थिति प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित एवं आधिकारिक बनाउन ठुलो सहयोग पुग्ने सचिवालयले बताएको छ। विवरण सङ्कलनका लागि सचिवालयले छुट्टै कक्षमा प्राविधिक टोली परिचालन गरेको छ।
सङ्कलन गरिएका सबै विवरणहरू अत्याधुनिक प्रणालीमा सुरक्षित रहने सुनिश्चितता सचिवालयले दिएको छ। यी बायोमेट्रिक डाटाहरूलाई संसद्को सुरक्षा जाँच, दैनिक उपस्थिति र भविष्यमा मतदान प्रक्रियामा समेत प्रयोग गर्न सकिने गरी गृहकार्य भइरहेको बुझिएको छ।
यसअघि संसद्मा केही डिजिटल अभ्यासहरू सुरु गरिए तापनि पूर्ण बायोमेट्रिक प्रमाणीकरणलाई यसपटक मात्र व्यवस्थित रूपमा कार्यान्वयनमा ल्याइएको हो। यस नयाँ व्यवस्थाले संसद्को दैनिक कामकारबाहीमा थप चुस्तता र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।