काठमाडौँ । प्रधानन्यायाधीशमा न्यायाधीश डा मनोजकुमार शर्मा सिफारिस भएका छन् । प्रधानमन्त्री वालेन्द्र साह बालेनको अध्यक्षतामा बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
वरीयताक्रम भन्दा बाहिर गएर परिषद्ले चौथो वरीयतामा रहेका शर्मालाई सिफारिस गरेको हो । बैठकमा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी ठाकुर, प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बे र कानून मन्त्री सोविता गौतम सहभागी थिए ।
प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीश रिक्त थियो । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा छिन् । एक महिना भन्दा बढी समय कामु खाए पनि उनी प्रधानन्यायाधीश हुन सकिनन् ।
न्यायपरिषद्ले वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
क्रमभंगतामा अहिलेको बालेन सरकार अग्रस्थानमा रहेको आरोपसमेत लाग्दा जोकोही प्रधानन्यायाधीश बन्न सक्नेमा शंका नरहेको सामाजिक सञ्जालमा ब्याप्त भइरहेकै अवस्थामा बिहीबार साँझ बसेको बैठकले डा शर्मालाई सिफारिस गरेको हो ।
शर्मा न्याय प्रशासन र संवैधानिक बहसमा सक्रिय भूमिका खेलेका न्यायाधीश हुन् । उनी कानूनी सुधारसम्बन्धी विषयमा रूची राख्छन् ।
शर्मा प्रधानन्यायाधीश हुँदा उनले बहुदलपछि पहिलो पटक ६ वर्षे पूर्ण कार्यकाल खान सक्छन् ।
परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।