नेपालको गौरव र प्रतिष्ठा बढाउने गरी कूटनीति अघि बढाउन सभामुख अर्यालको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
390
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्। नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सभामुख अर्यालले कूटनीतिक नियोगहरूको सक्रिय सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय सुरु गर्न आवश्यक रहेकोमा जोड दिए। उनले नेपालको राष्ट्रिय महत्त्व र पहिचानलाई विश्वमाझ बुझाउन अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे। शिक्षा र प्रविधिको प्रयोग गर्दै नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत र संस्कृतिप्रति जागरूक बनाउन जरुरी रहेको उनको भनाइ छ।
उनले भने, "हामीले शिक्षा र प्रविधिको माध्यमबाट अन्तर्राष्ट्रिय विज्ञहरू र नागरिकको सहभागिता गराई राष्ट्रिय महत्त्व बुझाउन आवश्यक छ, जसले हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्नेछ।" सभामुख अर्यालले सबैको लगन र प्रतिबद्धताविना राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा हुन नसक्ने उल्लेख गर्दै नेपालको कूटनीतिलाई विश्वव्यापी स्तरमा अझ प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सबै मिल्नुपर्ने बताए। उनले नेपालले आफ्ना राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न अझ धेरै मेहनत र क्रियाशीलता देखाउनुपर्ने आवश्यकतामा समेत जोड दिए।