सार्वजनिक यातायातलाई उच्चपदस्थले चढ्न मिल्ने बनाउनुपर्छ: सभापति गजुरेल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
395
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्न सक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्ने कुरा बताए। यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक यातायातको सुधार नै समृद्धिको वास्तविक आधार भएको उल्लेख गरे।
सांसद गजुरेलले हालको सडक पूर्वाधार र लगानी निजी सवारी साधनमुखी भएकोमा चिन्ता व्यक्त गर्दै अबका सडक र यातायात प्रणाली ‘मानवमैत्री’ हुनुपर्ने र त्यसमा सार्वजनिक यातायातको भूमिका प्रमुख हुनुपर्ने कुरा बताए। उनले यातायात क्षेत्रमा देखिएका विकृति र सिन्डिकेटको अन्त्यका लागि सरकारले कडा निगरानी गर्ने चेतावनी दिँदै सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनलाई दुरुस्त अवस्थामा राख्न र सडक सुरक्षाका मापदण्ड पालना गर्न व्यवसायीहरूलाई आग्रह गरे।
यातायात क्षेत्रमा व्यवसायीहरूको १३ खर्ब रुपैयाँ लगानी रहेको र ११ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको तथ्यलाई स्मरण गराउँदै उनले यस क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिए। सङ्घीय र प्रदेश सरकारबिच कार्यक्षेत्रको विषयमा देखिएका विवाद सुल्झाउन ‘सार्वजनिक यातायात प्राधिकरण’ मार्फत कानुनी सुधारको प्रक्रिया अगाडि बढिसकेको उनले बताए।
आफ्नो अनुभव साट्दै उनले भने, ‘मैले सार्वजनिक बसमा यात्रा गर्दा सर्वसाधारणले एक सांसदले यसरी यात्रा गर्छन् भन्ने विश्वास नै गर्न सकेनन्। यसले के देखाउँछ भने हामीले हाम्रो सार्वजनिक यातायातलाई अझै पनि सबैको रोजाइ र चढ्न योग्य बनाउन सकेका छैनौँ। हामी नीतिगत तहमा काम गर्छौँ, तपाईंहरू व्यवस्थापनको तहमा काम गर्नुहोस्। सार्वजनिक यातायातलाई यस्तो बनाऔँ कि हामी सबैले आफ्ना निजी सवारी साधन छोडेर सार्वजनिक बस चढेर कार्यालय जान सकौँ।’
यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन सीसीटीभी जडान, जीपीएस प्रणालीको कार्यान्वयन र डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने नियम कार्यान्वयनका लागि छलफल भइरहेको र दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारका लागि सञ्चार नेटवर्क विस्तार गर्न सञ्चार मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए। सांसद गजुरेलले सडक सुरक्षा, सार्वजनिक यातायातमा सुधार र गुणस्तरीय पूर्वाधार निर्माणलाई आफूले प्रमुख एजेण्डा बनाएको उल्लेख गर्दै यी योजना सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको कुरा बताए।