सुर्खेत । कर्णालीमा एसईईको परीक्षाको नतिजा अघिल्लो बर्षको भन्दा खस्किएको छ ।
२०८२ सालको एसईईमा कर्णालीका ३२ हजार तीन सय ३६ विद्यार्थीले परीक्षा दिएका थिए । सोमबार प्रकाशित नतिजाअनुसार १९ हजार ९५ विद्यार्थी अर्थात् ५९.६ प्रतिशत उत्तीर्ण भएका छन् ।
यो उत्तीर्ण प्रतिशत २०८१ को भन्दा १०.४ प्रतिशतले कम हो । अघिल्लो बर्षको एसईईमा कर्णालीका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०८० मा कर्णालीको एसईई नतिजा ७१ प्रतिशत थियो। यसले कर्णालीको नतिजा बर्सेनी खस्कदै गएको देखाएको छ ।
कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार कर्णालीमा यस वर्ष १३ हजार दुई सय ४१ विद्यार्थी ननग्रेडेड भएको छन् ।
मुगुमा सबैभन्दा धेरै ७५.९ र सबैभन्दा कम दैलेखमा ३१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष ३६ जनाले सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याएका छन् ।
जसमध्ये दैलेखमा दुई, सल्यानमा छ, कालीकोटमा एक र सुर्खेतमा १८ जनाले ४ जीपीए ल्याएको निर्देशनालयले जनाएको छ ।
यस वर्ष हुम्लामा नौ सय ५० मध्ये चार सय ६९, मुगुमा एक हजार तीन सय ९४ मध्ये एक हजार ५८, जाजरकोटमा सात हजार एक सय २२ मध्ये दुई हजार एक सय २२ र रुकुम पश्चिममा तीन हजार सात सय ८० मध्ये दुई हजार नौ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।
जुम्लामा दुई हजार एक सय ३३ मध्ये एक हजार चार सय ५४, डोल्पामा छ सय ३४ मध्ये दुई सय ९७, दैलेखमा चार हजार तीन सय छ मध्ये एक हजार तीन सय ७०, सल्यानमा तीन हजार नौ सय ८७ मध्ये दुई हजार सात सय ३२, कालीकोटमा तीन हजार १४ मध्ये दुई हजार दुई सय चार र सुर्खेतमा सात हजार एक सय ८८ मध्ये ४ हजार एक सय ८३ जना उत्तीर्ण भएका छन् ।
समयमै पाठ्यपुस्तक नपुग्दा, बिषयगत शिक्षकको अभावलगायतका कारणले एसईई नतिजा खस्किएको बताइएको छ ।