दुई वर्षभित्र मधेस प्रदेशलाई पूर्ण साक्षर बनाउने तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
406
Shares
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी दुई वर्षभित्र मधेस प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने गरी सरकारले ठोस कार्ययोजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। साक्षरतासम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो योजना सार्वजनिक गरेका हुन्।
मधेस प्रदेशमा हाल ८ लाख ३३ हजार १७१ जना निरक्षर रहेको तथ्याङ्क उल्लेख गर्दै मन्त्री पोखरेलले उनीहरूलाई साक्षर बनाउन सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति अपनाउने बताए। यसका लागि नीतिगत र कानुनी सुधारका साथै तत्काल कार्यान्वयनमा जाने गरी दुईवटा पाटोबाट काम अगाडि बढाइने उनले स्पष्ट पारे।
देशभर विद्यालय भर्ना दर उच्च रहे पनि विद्यार्थीले बीचैमा कक्षा छोड्ने (ड्रपआउट) समस्यालाई मन्त्री पोखरेलले मुख्य चुनौतीका रूपमा औंल्याए। भर्ना भएका विद्यार्थी पुनः निरक्षर हुने अवस्था आउन नदिन मन्त्रालयले प्रभावकारी भूमिका खेल्ने उनले बताए। "भविष्यमा पुनः निरक्षरताको समस्या दोहोरिन नदिन हामीले ठोस कदम चाल्नुपर्नेछ," उनले भने।
मधेस प्रदेशलाई एक देखि दुई वर्षभित्र पूर्ण साक्षर घोषणा गर्न संघीय सरकारले प्रदेश र स्थानीय तहसँग नीतिगत र कार्यक्रमगत रूपमा सहकार्य गर्ने मन्त्री पोखरेलले बताए। तत्कालको समस्या समाधानका लागि कार्यदलले सुझाएको ‘व्यक्तिदेखि व्यक्तिसम्म’ सिकाउने पद्धति र सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन गरिने कार्यक्रमहरूलाई प्रभावकारी बनाइने उनले जानकारी दिए।