नबिल बैङ्कको एनबैङ्क एपमार्फत सरल रूपमा एसआइपी सेवा लिन सकिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
229
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले आफ्नो बैङ्किङ एप ‘एन बैङ्क’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैङ्कले जनाएको छ।
यही वैशाख ३१ गते नबिल बैङ्क लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो। समझदारी पत्रमा नबिल बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईँ र नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।
एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एन बैङ्कमार्फत उक्त सेवा सुरु गरिएको बैङ्कले जनाएको छ। बैङ्कका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैङ्कका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइलबाटै गर्न सकिने छ।
एनबैङ्कका प्रयोगकर्ताहरूले एन बैङ्कको होम पेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन्। यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैङ्कले जनाएको छ।
“ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैङ्कको उद्देश्य हो,” बैङ्कका नायब प्रमुख बजगाईँले बताए। “एनबैङ्कमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौँ।”
उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैङ्कको भनाइ छ। विस्तारित सुविधासँगै एनबैङ्कले आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर सुधार गर्दै सेवाग्राहीहरूलाई एकीकृत प्लेटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैङ्कले जनाएको छ।
नबिल बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ। चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले पछिल्लो समयमा दिगो बैङ्किङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैङ्किङका लागि एनबैङ्क सञ्चालनमा ल्याएको छ।