जोखिमसँग खेल्दै जनचेतना फैलाउँदै रमेश, आठ वर्षमा १३ सय सर्पको उद्धार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
831
Shares
मोरङ। मोरङको उर्लाबारी-४ का २९ वर्षीय रमेश भण्डारीले पछिल्लो आठ वर्षमा एक हजार तीन सयभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरेका छन् ।
खेतबारी, भान्छाघरदेखि मानिसको ओछ्यानसम्म पुगेका सर्प उद्धार गर्दै उनले जोखिमपूर्ण कामलाई निरन्तरता दिँदै आएका छन् ।
भण्डारीको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि शुरू भएको हो । छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्पप्रति आकर्षित बनायो ।
कुनै विशेष उपकरणबिनै ठूला सर्प समात्ने विष्टको सीपले प्रभावित भएपछि उनले पनि बिस्तारै सर्प समात्ने र उद्धार गर्ने कला सिक्दै गए ।
सुरुआती दिन भने सहज थिएनन् । अविषालु सर्प समात्ने क्रममा उनी पटक-पटक डसिए । तर विष नभएका सर्पले ज्यान नलिने आत्मविश्वासले उनलाई रोक्न सकेन । पछि उनले विषालु सर्पको व्यवहार, जोखिम र उद्धार विधिबारे गहिरो अध्ययन र अनुभव हासिल गरे ।
“सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ,” भण्डारी भन्छन्, “हामी पुगेपछि सर्प अझ सतर्क हुन्छ, त्यसैले धेरै सजग हुनुपर्छ ।”
उनका अनुसार सर्प देख्नेबित्तिकै ढुंगा हान्ने, लाठीले हिर्काउने वा आगो लगाउने प्रवृत्ति गलत हो । त्यस्तो व्यवहारले सर्प झन् आक्रामक बन्ने उनले बताए । “सर्पले आफूलाई खतरा महसुस नगरेसम्म मानिसलाई टोक्दैन,” उनले भने ।
भण्डारी सर्पलाई जोखिमको स्रोत नभई वातावरणीय सन्तुलनको महत्त्वपूर्ण अंग मान्छन् ।
उनका अनुसार सर्पले खेतबारीमा मुसा तथा विभिन्न हानिकारक जीव नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ । तर समाजमा अझै पनि सर्पप्रति गहिरो डर र भ्रम कायम रहेको उनको भनाइ छ ।
यही डर हटाउन उनी विद्यालय, किसान समूह तथा स्थानीय संघसंस्थामा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छन् ।
“वासस्थान सुरक्षित राख्न सके सर्प घरमा पस्दैनन्,” उनी भन्छन्, “तर मानिसकै कारण सर्प पनि जोखिममा परेका छन् ।”
सुरुका दिनमा परिवारले यस्तो जोखिमपूर्ण काम नगर्न सुझाव दिएको भए पनि उनले आफ्नो अभियान छाडेनन् ।
अहिले विशेषगरी वर्षायाममा प्रायः दैनिकजसो सर्प उद्धारमै उनको दिन बित्ने गरेको छ । सूचना आउनासाथ उनी जुनसुकै बेला घरबाट निस्किन्छन् ।
यो काम पूर्ण रूपमा स्वयंसेवी भएको उनले बताए । आर्थिक आम्दानी नभए पनि समाजमा चिनिने अवसर पाएकोमा उनी सन्तुष्ट छन् । “पैसा कमाइ नभए पनि नाम चलेको छ,” उनी मुस्कुराउँदै भन्छन्, “त्यसैलाई आफ्नो सम्पत्ति ठानेको छु ।”
उनले स्थानीय स्तरमा प्रतिभा र क्षमताको पर्याप्त सम्मान नहुने गुनासोसमेत गरे ।