आफ्ना सांसदलाई जनताका मुद्दामा प्रखर बन्न रास्वपाको निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
588
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसद र सरकार बीचको समन्वयलाई प्रभावकारी बनाउन सातै प्रदेशका सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम शुरू गरेको छ ।
अभियानअन्तर्गत शुक्रबार कोशी र मधेस प्रदेशका सांसदहरूसँग पार्टी सभापतिले छुट्टाछुट्टै छलफल गरेका हुन् ।
छलफलमा सांसदहरूले निर्वाचनका क्रममा भोगेका अनुभव, जनताका अपेक्षा, क्षेत्रीय समस्या तथा पार्टीऔसरकार समन्वयबारे धारणा राखेका थिए ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार पार्टी सभापतिले वडादेखि संघसम्मका गतिविधि, आगामी महाधिवेशनको तयारी, संसदीय भूमिकालाई जनमुखी बनाउने विषय तथा पार्टीभित्र देखिएका चुनौतीबारे सांसदहरूलाई निर्देशनात्मक सुझाव दिएका थिए ।
छलफलमा सांसदहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउने, कानूनी जटिलता समाधान गर्ने तथा पार्टी विधानअनुसार सरकारको कामलाई सहयोग पुग्ने गरी भूमिका निर्वाह गर्ने विषयमा पनि गहन छलफल भएको बताइएको छ ।
सचेतक परियारका अनुसार सभापतिले सांसदहरूलाई आफ्नो व्यक्तित्व विकास गर्दै जनताका मुद्दामा प्रखर रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए ।
“सांसदहरूले आफ्ना क्षेत्रका समस्या र जनताका अपेक्षालाई सरकारसम्म प्रभावकारी रूपमा पुर्याउने तथा सरकारको कामलाई नतिजामुखी बनाउन भूमिका खेल्ने विषयमा छलफल केन्द्रित थियो,” परियारले भने ।
झापा क्षेत्र नम्बर ५ का सांसदको अनुपस्थितिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रधानमन्त्रीसँग पार्टी सभापतिको नियमित समन्वय र सहकार्य भइरहेको बताएका छन् । आगामी बजेट निर्माणको व्यस्तताका कारण केही विशेष परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।
सहकारी पीडितलाई सरकारी कोषबाट रकम वितरण गर्ने तयारीबारे सोधिएको प्रश्नमा परियारले उक्त विषयमा थप विस्तृत छलफल आगामी दिनमा गर्न सकिने प्रतिक्रिया दिए ।
उनले पार्टी नेतृत्व र संसदीय दलले सरकारका गतिविधिलाई नजिकबाट नियालिरहेको र आवश्यक समयमा आधिकारिक धारणा सार्वजनिक गरिने संकेत गरे ।
रास्वपाले आफ्ना जनप्रतिनिधिलाई थप उत्तरदायी बनाउन तथा पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न यस्ता अन्तरक्रियात्मक कार्यक्रम सातै प्रदेशमा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।