arrow

सभामुख अर्यालको भूमिका निष्पक्ष नभएको प्रतिपक्षी सांसदहरूको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
pratipakshi-daal.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद गीतकुमार सेन्दाङ, नेकपा (एमाले) की सांसद साजिदा सिद्धिकी खातुन र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विश्वकर्माले सभामुखको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपाली कांग्रेसकी सांसद गीतकुमार सेन्दाङले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनका लागि रुलिङ समेत गर्न नसकेको भन्दै सभामुख अर्याल प्रतिपक्षका अगाडि निरीह देखिएको जिकिर गरिन्। संसद्मा प्रधानमन्त्रीलाई उपस्थित गराउन रुलिङ गर्न धेरै दबाब र घेराबन्दी गर्दा पनि सभामुख 'थपना जस्तो' मात्र भएर बसेको आरोप लगाउँदै उनले आफूहरू प्रतिपक्षमा बसेर विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारिन्। 

यस्तै नेकपा (एमाले) की सांसद साजिदा सिद्धिकी खातुनले सभामुख अर्याल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा बाहिर निस्कन नसकेको र संसद्को निष्पक्ष सभामुख बन्नुको साटो रास्वपाकै वकालत गरेको भन्दै आक्रोश व्यक्त गरिन्। प्रधानमन्त्री, मन्त्री, सभामुख र उपसभामुख जस्ता गरिमामय पदहरू निष्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गर्दै उनले सभामुखले संसद्मा प्रधानमन्त्रीलाई समेत ल्याउन नसकेपछि आफूहरूले आवाज उठाउनु परेको बताइन्।

सभामुख अर्याल संसद्प्रति जवाफदेही नभएको र संसद्मा 'बायस' भएको जस्तो महसुस आफूहरूलाई भएको आरोप नेकपाकी सांसद पार्वती विश्वकर्माले लगाइन्। सरकारले देश र जनताको हित विपरीत गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले संसद्मा महिलाहरूको प्रतिनिधित्वको विषय समेत उठाइन्। नेपालमा महिलाको जनसङ्ख्या ५१ प्रतिशत रहेकाले हाल संसद्मा महिला सांसदहरूको उपस्थिति पर्याप्त नभएको र जनसङ्ख्याकै आधारमा संसद् लगायत राज्यका सबै निकायमा महिलाहरूको प्रतिनिधित्व ५१ प्रतिशत नै पुर्‍याउनका लागि आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ