arrow

हावाहुरीले घर भत्किँदा च्यापिएर एक महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
bijuli-pole.jpg

रौतहट । रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।

मबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो ।

टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फूलकुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।

घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक सुमन परियार र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल प्रहरी चौकी हर्षाहाबाट अन्दाजी तीन किलोमिटर पूर्व-दक्षिणमा पर्दछ ।

यसै गरी, हावाहुरीकै कारण रौतहटको चपुर-गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चोक आसपासमा चपुर९गौर ३३ केभी लाइनका तीन ओटा पोल भाँचिएका छन् भने १० ओटा पोलबाट तार खसेको छ ।

विद्युत् प्राधिकरणले लाइन मर्मतका लागि प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटाइसकेको नेपाल विद्युत् प्राधिकरण गौरले जनाएको छ ।

मर्मत सम्भारको काम सकिएपछि मात्र विद्युत् सेवा पुनः शुरू हुने भन्दै प्राधिकरणले ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना सहित जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ