गुजरात आईपीएलको फाइनलमा, राजस्थान पराजित, गिलको शतक, सूर्यवंशीको ९६ रन खेर
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
1.3k
Shares
काठमाडौँ । गुजरात टाइटन्स तेस्रो पटक इन्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ। क्वालिफायर २ को शुक्रबार रातिको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो ।
योसँगै आइतबार बेलुकी हुने फाइनलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलुरूसँग खेल्नेछ । फाइनल खेल अहमदाबादमा हुनेछ ।
शुक्रबार राजस्थानको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा पहिले ब्याटिङ गर्दै राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । जवाफमा गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । यो आईपीएलमा गुजरातको सबैभन्दा ठूलो रन चेस हो । यसअघिको सबैभन्दा ठूलो सफल रन चेस २०४ रन थियो।
गिलले खेले कप्तानी इनिङ्स खेले
गुजरातको जितका नायक कप्तान शुभमन गिल भए । उनले ५३ बलमा १०४ रन बनाए । उनको इनिङ्समा १५ चौका र ३ छक्का समावेश थियो। साई सुदर्शनले पनि ३२ बलमा ५८ रन बनाए।
दुवैले पहिलो विकेटका लागि १६७ रनको साझेदारी गरे । जसले राजस्थानलाई पूर्ण रूपमा पछाडि पार्यो । सुदर्शनलगातार दोस्रो खेलमा हिट विकेटमा आउट भए । जबकि गिल जोफ्रा आर्चरको हातबाट एलबीडब्ल्यू भए ।
त्यसपछि वाशिंगटन सुन्दरले १६ रनको द्रुत इनिङ्स खेले । राहुल तेवातिया ९ बलमा १७ रनमा अविजित रहेर छक्का प्रहार गरे । जोस बटलर ९ रनमा अविजित रहे। राजस्थानका लागि आर्चर, नान्द्रे बर्गर र ब्रिजेश शर्माले १-१ विकेट लिए ।
सूर्यवंशीले ९६ रन बनाए
पहिले राजस्थान रोयल्सका लागि यशस्वी जयस्वाल पहिलो ओभरमा १ रनमा आउट भए। त्यसपछि वैभव सूर्यवंशीले ४७ बलमा ९६ रन बनाए । जसमा ८ चौका र ७ छक्का समावेश थिए।
उनले १६ खेलमा ७७६ रन बनाएका छन् । गिलले १५ खेलमा ७२२ तथा साइ सुदर्शनले १६ खेलमा ७१० रन बनाएका छन् ।
कागिसो रबाडाले २८ तथा रोयल च्यालेन्जर्स बैंगलुरूका भुवनेश्वर कुमारले २६ विकेट लिएका छन् ।
वैभव आईपीएलमा सबैभन्दा कम बलमा १,००० रन पूरा गर्ने खेलाडी बने। सूर्यवंशीले शुक्रबार ४४० बलमा आफ्नो १,००० आईपीएल रन पूरा गरे ।
उनी आईपीएलमा सबैभन्दा कम बलमा १,००० रन पूरा गर्ने खेलाडी बने । उनले आन्द्रे रसेलको रेकर्ड तोडेका थिए, जसले ५४५ बलमा १,००० रन पूरा गरेका थिए।
रविन्द्र जडेजाले पनि जिम्मेवारीपूर्वक खेल्दै अविजित ४५ रन बनाए । रियान पराग (११), दासुन शनाका (३), र जोफ्रा आर्चर (७) चाँडै आउट भए । तर अन्तिम ओभरहरूमा डोनोभान फरेराले ११ बलमा अविजित ३८ रन बनाए ।
जसमा २ चौका र ४ छक्का समावेश थिए। फरेरा र जडेजाले सातौं विकेटको लागि अविजित ४२ रनको साझेदारी गरे, जसले राजस्थानलाई २०० पार गर्यो।
गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले २-२ विकेट लिए। मोहम्मद सिराज र प्रसिद्ध कृष्णले १-१ विकेट लिए।