arrow

गान्धी आश्रमको सम्पत्तिमा लामिछानेको रजाइँ: लाखौँको अनियमितता र कागजी सेटिङको पर्दाफास

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
gandhi-tulsi-mehar-shrestha.jpg

काठमाडौँ । परोपकार र गान्धीवादी आदर्शको प्रतीक मानिएको 'गान्धी तुलसी मेहर आश्रम' भित्र व्यापक आर्थिक भ्रष्टाचार, नक्कली बिल भर्पाइ र अख्तियारको चरम दुरुपयोग भइरहेको रहस्य खुलेको छ । 

आश्रमका गतिविधि र आर्थिक कारोबारसँग सम्बन्धित आन्तरिक तथ्यहरू बाहिरिएसँगै संस्थाको सम्पत्तिमा प्रेम लामिछाने लगायतका पदाधिकारीहरूले ब्रम्हलुट मच्चाएको खुलासा भएको हो ।

बाहिरिएका तथ्य अनुसार लेखापरीक्षण (अडिट) देखि भौतिक पूर्वाधार निर्माण, सामान खरिद र आवास गृह सञ्चालनमा समेत लाखौँ रुपैयाँको कागजी सेटिङ गरी संस्थालाई खोक्रो बनाउने काम भइरहेको छ ।

अडिटमै ठूलो चलखेल: काम नहुँदै लाखौँ भुक्तानी

आश्रमको हिसाब-किताब चुस्त राख्नका लागि गरिने लेखापरीक्षण (अडिट) मै शुरूदेखि नै ठूलो चलखेल हुने गरेको पाइएको छ । नियमानुसार हरेक २-२ वर्षमा लेखापरीक्षक परिवर्तन हुनुपर्नेमा लामो समयदेखि एकै व्यक्तिलाई मात्र जिम्मेवारी सुम्पिएर सेटिङ मिलाइएको छ । कूल १ लाख ५० हजार रुपैयाँ खर्च देखाइएको अडिट कार्यमा वास्तविक हिसाब राख्ने अडिटकर्तालाई भने जम्मा ५० हजारमात्र दिई बाँकी रकम गायब पारिने गरेको तथ्य फेला परेको छ ।

गेट निर्माण र रंगरोगनमा 'कमिसन' को जालो

आश्रमका भौतिक संरचना निर्माणमा वास्तविक खर्चभन्दा कयौँ गुणा बढीको नक्कली बिल बनाएर रकम कुम्ल्याउने खेल भइरहेको छ ।

गेट निर्माणमा ३५ हजार गायब: आश्रमको गेट निर्माण गर्दा कूल १ लाख ४० हजार रुपैयाँ खर्च भएको देखाइएको छ । तर सो कार्यमा प्रेम लामिछाने र लेखा समितिका पदाधिकारीले मिलेमतो गरी ३५ हजार रुपैयाँ सिधै गोजीमा हालेका छन् ।

रंगरोगनमा नक्कली बिल: आश्रमको भवन रंगरोगन गर्दा वास्तविक काम र रङको खर्च ८० हजार रुपैयाँ मात्र भएकोमा, सेटिङ मिलाएर १ लाख रुपैयाँको नक्कली बिल र भर्पाइ तयार पारिएको छ ।

सटर निर्माण र डिस्काउन्टमा आँखा: खसिमोड तर्फको सटर बनाउँदा जम्मा ३ लाख रुपैयाँ खर्च भएको दाबी गरिए पनि सो कार्यको बिलभर्पाइ र चेक जाँच गर्दा व्यापक कैफियत फेला परेको छ ।

सामान खरिदमा 'खाली बिल' को धन्दा

संस्थामा पारदर्शिताको धज्जी उडाउँदै आश्रमभित्र आवश्यक पर्ने सामान खरिद गर्दा लेखा समितिले व्यापारीहरूसँग 'खाली बिल' (ब्ल्याङ्क) माग्ने र त्यसमा आफूखुशी बढाएर रकम भरी भुक्तानी लिने गरेको गम्भीर आरोप लागेको छ । प्रेम लामिछानेको कार्यालयमा आएका बिल, भौचर र चेकहरू सघन रूपमा जाँच गर्ने हो भने यो नेटवर्कको सम्पूर्ण प्रमाण छताछुल्ल हुने दाबी गरिएको छ ।

जग्गा र भवन कब्जा: पुरानो घर भत्काएर सामान गायब

आश्रमको सम्पत्तिलाई निजी सरह प्रयोग गर्ने क्रममा खसिमोडकै पुरानो घर र त्यसका अमूल्य काठपातहरू घर भत्काई सिधै पोखरा पुर्‍याएर व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको छ । यसै गरी, आश्रमभित्र खानेपानी ट्याङ्की निर्माण गरिएको क्षेत्रको जग्गाको हालसाबिक (नापजाँच र कानुनी दर्ता) समेत नभएकाले आगामी दिनमा जग्गाधनीसँग ठूलो कानूनी विवाद आउने जोखिम बढेको छ ।

कर्मचारी र भाडामा पनि लुट: कमिसनका लागि निर्णय

आश्रमका सटर तथा कोठाहरू भाडामा लगाउँदा र उठाउँदा समेत मिलेमतो हुने गरेको छ । भाडामा बस्नेहरूले रकम बुझाए पनि 'मिलेमतो' मा पैसा नतिरेको बहाना बनाई उनीहरूलाई भगाउने र उठिसकेको रकम पदाधिकारी आफैँले राख्ने गरेका छन् ।

यति मात्र होइन, 'गान्धी तुलसी मेहर हस्पिटल' मा आफ्नो मामा पर्ने र निकट रहेका साथीहरूलाई आर्थिक फाइदा पुर्‍याउन २० वर्षका लागि भाडामा दिने एकलौटी निर्णय गरिएको छ । वरिपरिका टोलवासीको राय सल्लाह विपरीत, मोटो रकम कमिसन खानकै लागि यो सम्झौता गरिएको स्रोतको दाबी छ ।

तालिमका नाममा किर्ते राशन खर्च

आश्रमभित्र काम तथा तालिम दिने बहानामा सञ्चालन गरिएका गतिविधिमा पनि किर्ते काम भएका छन् । तालिमका लागि भनी १० जना महिला राखिएको ठाउँमा कागजातमा भने ५० जनाको 'राशन खर्च' निकाली रकम हिनामिना गरिएको छ ।

यसरी निकालिएको रकम बैंकबाट सिधै नभई मिलेमतोमा एउटै ठाउँमा दुई-दुई वटा चेक काटी भुक्तानी लिने गरिएको छ । यता आश्रमको मुद्दा मामिला चल्दा अदालतमा १ जनामात्र वकिलले बहस गर्ने भए पनि कागजमा भने ३ जना वकिलको खर्च देखाई संस्थाको कोष रित्याउने काम भइरहेको छ ।

यस विषयमा संस्थाका अध्यक्ष तथा महासचिव लगायतका व्यक्तिहरूसमेत मौन रहनुले सिंगो नेतृत्व नै यो अनियमिततामा मुछिएको प्रस्ट पार्छ ।

पवित्र उद्देश्य बोकेको गान्धी आश्रममा भइरहेको यो लुटतन्त्रमाथि सम्बन्धित सरोकारवाला निकाय र अख्तियारले तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग उठेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ