संसदीय समिति बैठकलाई प्रभावकारी बनाउन कार्यविधि सुधारको प्रस्ताव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
285
Shares
काठमाडौँ। कानून, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले समिति बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्था कार्यविधिमै स्पष्ट गर्नुपर्ने बताएकी छन्।
बुधबार समितिको बैठकमा उनले समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी छलफलका क्रममा उनले आकस्मिक बैठकको सूचना सकेसम्म छिटो दिनुपर्ने भए पनि कम्तीमा आधा घण्टा वा एक घण्टाअघि जानकारी गराउने अभ्यास कायम गर्नुपर्ने धारणा राखिन्।
समितिमा डिजिटल हाजिरीको अभ्यास शुरू भइसकेकाले त्यसलाई कार्यविधिमा समेट्न आवश्यक रहेको उनको भनाइ थियो।
बास्कोटाले विदेश भ्रमण वा लगातार बैठकमा अनुपस्थित हुने सदस्यहरूले पूर्वजानकारी गराउनुपर्नेमा जोड दिँदै पाँच वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने अवस्थामा लिखित निवेदन दिनुपर्ने प्रस्ताव गरिन्।
सूचना आदानप्रदानका लागि कुनै एक सञ्चार एपको नाम उल्लेख गर्नु उपयुक्त नहुने बताउँदै उनले ‘विद्युतीय माध्यम’ भन्ने शब्दावली प्रयोग गर्नुपर्ने सुझाव दिइन्।
पत्राचार, टेलिफोन, इमेल, एसएमएस तथा अन्य विद्युतीय माध्यममार्फत सूचना प्रवाह गर्न सकिने व्यवस्था कार्यविधिमा समावेश गर्नुपर्ने उनको भनाइ थियो।
समितिको छलफल पटक-पटक विषयान्तर हुने गरेको उल्लेख गर्दै उनले सदस्यहरूको बोल्ने समय निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याइन्।
विषयकेन्द्रित छलफललाई प्रोत्साहन गर्न तीन वा पाँच मिनेटजस्ता समयसीमा तय गर्ने विषयमा सदस्यहरूसँग थप छलफल गर्नुपर्ने उनले बताइन्।
विधेयकमाथिको छलफलका क्रममा आवश्यकताअनुसार उपसमिति गठन गर्न सकिने तथा संशोधन प्रस्तावकर्ता, विज्ञ, विशेषज्ञ र सरोकारवालालाई आमन्त्रण गरी छलफल गर्न सकिने व्यवस्था कार्यविधिमा समेट्नुपर्ने सुझाव पनि उनले दिइन्।